arrow

सरकारको एक वर्ष : भुटानी शरणार्थी काण्डदेखि सुन काण्डसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
gold-galaudai.jpg

काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणकफ प्रयास गरेको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चाले पनि खासै ठुलो सफलता पाउन सकेन । 

गत वर्ष यही समयमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन नागरिकको राति २ बजेदेखिको ठेलमठेल भीड अहिले देख्न सकिँदैन । सुन तस्करी तथा नक्कली कागजात तयार पारी राज्यलाई नै हानि पुर्‍याउने (नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) कार्यको सञ्जाललाई नै ध्वस्त बनाइएको बताइएपनि मामिला सामसुम भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनको एक वर्ष पुग्दा यी र यस्ता केही देखिने तथ्यहरुले गएको वर्ष तस्करी र अपराध नियन्त्रणका दृष्टिले न्युन सफल मान्न सकिने राजनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । सरकारबाट अझै धेरै गर्न भने बाँकी रहेको उनीहरुको प्रतिक्रिया छ । छिटफुट केही योजना सोचेअनुसार सफल हुन नसकेकाले गति बढाउनुपर्ने स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउँदै आएका छन् । अर्काे वर्ष लागेसँगै नयाँ ढङ्गले जाने उनले यसअघि नै उद्घोष गरिसकेका छन् ।

अहिले उनी मन्त्रालयगत प्रगति विवरण अध्ययनकै चरणमा छन् भने अधिकांश मन्त्रालयले प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेका छन् । कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री दाहाल सबै अध्ययन र समीक्षापछि अर्काे नयाँ चरणको घोषणा गरेर अघि बढ्ने तयारीमा छन् । 

सुन तस्करी नियन्त्रणमा पनि सरकारले ठूलो पहलकदमी लिँदा सङ्गठित तस्कर, विचौलिया, सहयोगीहरु पक्राउ परेका छन् भने पछिल्लो एक वर्षमा मात्रै झण्डै १०० किलो सुन बरामद गरिएको छ । गृहमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि पहिलो निर्णय नै सुराकी खर्च हटाउने निर्णय गरेर सुशासनको जग बनाए पनि टिकाइ रहन सकेनन्। गृह मन्त्रालयबाट लगाताररुपमा शान्ति सुरक्षा, अमनचलन कायमका सवालका साथै चोरी, तस्करी, अपराध नियन्त्रणमा ठोस कदम चालिएको छ ।

अर्काे महत्वपूर्ण घटना भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहको सेटिङ नै भत्काइएको छ । उक्त कदमको सर्वत्र प्रशंसा भएको छ । शरणार्थी प्रकरणमा राजनीति व्यक्तिदेखि उच्च सरकारी कर्मचारी तथा विचौलियालगायतका व्यक्तिहरु पक्राउ परेका छन् । उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन् भने धेरै जसो धरौटीमा रिहा भएका छन् । 

सुराकी खर्च खारेज
गृहमन्त्री श्रेष्ठले गत चैत १७ गते गृह मन्त्रालयमा पद बहाल भएका थिए । सरकारको एक वर्ष पुग्नै लाग्दा गृहमन्त्रीको एक वर्ष पुगेको छैन । तर पनि मन्त्री श्रेष्ठले सम्हालेको गृहले महत्वपूर्ण पहलकदमी लिएको छ । गृहको पुरानो चलन गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा लाखौँ खर्च गर्न पाउने कार्यविधिलाई खारेज गर्ने फाइलमा हस्ताक्षर गरी उनले पदबहाली गरेका थिए ।

त्यो रकमको अडिट, भरपाई बिलिङ नै हुँदैनथ्यो । आवश्यकताका आधारमा सुराकी खर्च भनेर गृहमन्त्री र सचिवबाट सामान्यतया १५ देखि २५ लाखसम्म मासिक खर्च हुन्थ्यो त्यसलाई गृहमन्त्री श्रेष्ठको प्रस्तावमा सरकारले खारेज गरिसकेको छ । 

मिटरब्याजी समस्या समाधान 
गत वर्षको यो समयमा मिटरब्याजी पीडित जिल्लामा आन्दोलित थिए । सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका उनीहरु केही सीप नलागेपछि चैतमा राजधानी केन्द्रित भए । सरकारले द्रुतगतिबाट उनीहरुको समस्या समाधानको बाटो समाएको थियो । सरकार गठनको एक वर्ष नबित्दै उक्त समस्याले समाधानको बाटो समाएको छ ।

सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगमा २८ हजार निवेदन परेकामा हासम्ममा पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र भएको छ । आयोगका सदस्य पूर्वएआइजी उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी २१८ बिघा, १० कट्टा, ०७ धुर जग्गा (७९३ कित्ता) साहुबाट पीडितलाई फिर्ता गराइएको छ । कूल रु एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र भएको छ । अहिलेसम्म ३९ जिल्लामा अनुचित लेनदेनको समस्या समाप्त भएको छ । 

अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृहमन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयले टङ्गङ्गो लगाउने गरी आयोगले प्रतिवेदन बुझाएको छ । संसद्ले यससम्बन्धी कानुनसमेत पारित गरी कार्यान्वयनमा आइसकेको छ ।
 
भुटानी शरणार्थी काण्ड 
अर्काे डरलाग्दो काण्ड हो सक्कली नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराध । यो राज्य संयन्त्रकै उपस्थितिमा भएको जघन्य अपराध थियो । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रकम असुली गरेको आरोपमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

उनीहरुका बयानका आधारमा प्रहरीले लहरो तान्दै जाँदा बहालवाला सचिव तथा राजनीतिक उच्च नेतृत्वसम्म पुग्यो । उक्त मुद्दामा ३० जनाविरुद्ध झण्डै रु २९ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौँले पक्राउ परेकामध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार पठाएकामा पछि पुनरावेदन हुँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका केही व्यक्तिहरु धरौटीमा छाडिएका छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत कारागारमै छन् ।

सुन काण्ड 
अघिल्लो माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) मा लुकाइछिपाइ ल्याएको नौ किलो सुन प्रकरण र ब्रेक शुमा हालेर ल्याइएको ६१ किलो सुन गत साउन २ गते विमानस्थलको भन्सार कार्यालय अगाडि बरामद गरिएको प्रकरणले नेपालमा सुन कसरी भित्रिन्छ भन्ने तथ्य उजागर गरिदिएको छ । 

उक्त प्रकरण अनुसन्धानमा स्वदेश र विदेशका ठूलो गिरोह सक्रिय रहेको पाइएको छ । सरकारले असोज १४ मा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेकोमा अहिले आयोगले काम गरिरहेको छ । 

ती ठूला सुन काण्डको अनुसन्धान जारी रहँदा गत भदौ ३ र असोज १३ गते रसुवा नाकाबाट तीन किलो, असोज १० र ११ गते दोलखाबाट सात किलो सुनसहित केही व्यक्तिलाई समात्यो । मङ्सिर २१ गते राति १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घलेसहितका व्यक्तिहरु समातिएका छन् । त्यसको केही दिनमै न्युरोड र नागढुङ्गाबाट नौ किलो सुन बरामद गरी पाँच जना पक्राउ परे । 

प्रहरीबाट प्राप्त विवरणमा पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको सात सय किलो सुन बरामद भएको छ । सुन ओसारपसारमा संलग्न छ सयभन्दा बढी समातिएका छन् । सुन भित्रिने अवैध बाटोको पहिचान र सुन ल्याउने तस्कर खोज्ने काम अझै पनि जारी छ । 

ललिता निवास काण्डमा उथलपुथल
अर्काे सरकारी जमिन घोटालाको नमूना उदाहरण रहेको ललिता निवास काण्ड २०४९ देखि २०६९ को समयभित्रको हो । त्यसको फाइल खोलेर सरकारले अर्काे महत्वपूर्ण कदम अघि बढाएको छ । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । 

यस प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायतविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले भदौ १० गते उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । 

गृह प्रशासन सुधारको पहल 
सरकारले गृह प्रशासन सुधारको पहल पनि सुरु गरेको छ । प्रधानमन्त्री प्रचण्डसँगको परामर्शपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल थालेका छन् । 

केही बाँकी गर्न काम 

केही कामहरु भने थाती नै छन् । लामो समयदेखि प्रहरी समायोजन हुन नसकेकाले त्यसलाई अघि बढाउन जरुरी रहेको छ । एक चरणको छलफल भइसकेको र प्रदेशका मन्त्रीहरुबाट ध्यानाकर्षण गराइसकेकाले पनि सरकारले यसलाई गम्भीर चासोका साथ काम गरिरहेको जनाइएको छ । तीनै तहका सरकारको कामकारबाहीका बारेमा भएका बेमेल, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनेदेखि सुरक्षा निकायबाट हुने गरेका कमीकमजोरीमा अझै पनि ठोस काम हुन नसकेको गुनासाहरु देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ