arrow

सहयोगको हात फैलाउँदै सुखावती

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
sukhawati-pokhara-rsss.jpg
तस्बिर : रासस

पोखरा । ‘एकको उपहार, अर्काको सरोकार’ भन्ने नाराका साथ पुराना सामान पुनः प्रयोग एवं प्रशोधन गरी त्यसलाई सुपथ मूल्यमा बेच्ने र आम्दानीलाई सामाजिक उपयोगमा लगाउँदै आएको सुखावती फाउन्डेसनले पोखरामा सहयोगको हात फैलाउन सुरु गरेको छ ।

समाज कल्याण परिषद्मा दर्ता गरी शिक्षा र महिला उद्यमशीलता निर्माणका लागि क्रियाशील हुँदै आएको सो संस्थाले गत अक्टोबरदेखि पोखरा महानगरपालिका-१७ स्थित पावरहाउस नजिक नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

प्रयोग भइसके पनि पुनःप्रयोग गर्न मिल्ने सामग्री सङ्कलन/प्रशोधन गरी न्यून मूल्यमा बिक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको यस संस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको व्यवस्थापक चित्र दाहालले जानकारी दिए ।

“सन् २०१५ मा कानुनीरुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरिएको सुुखावती स्टोरका  काठमाडौँमा तीन वटा शाखा सञ्चालनमा आइसकेका छन्”, उनले भने, “मा यही अक्टोबर १ देखि पोखरा महानगरपालिका-१७ पावरहाउसस्थित डमरु मार्केटमा चौथो नयाँ शाखा सञ्चालनमा ल्याइएको छ ।”

पोखरामा शाखा सञ्चालन गरेर मानवकल्याण, रोजगारी सिर्जना र खेर गइरहेको सामग्रीको यथासम्भव पुुनःप्रयोग गर्ने संस्कृतिलाई बढावा दिँदै वातावरणीय संरक्षणमा योगदान दिने अभियानमा पोखरावासीको साथ र सहयोग मिल्ने विश्वास लिइएको उनले बताए ।

एकको पुरानो सामान अर्काका लागि नयाँ हुनसक्ने बताउने फाउन्डेशनका अध्यक्ष चिजमान गुरुङले ‘माया बाँडौँ खुसी बढाउँ’ भन्ने नाराका साथ आफूहरूले अभियान थालेकोे जानकारी दिए । 

फाउन्डेशनको तर्फबाट भूकम्पमा निधन भएका परिवारका छोराछोरीलाई शिक्षादिक्षाका साथै अन्य विभिन्न सामाजिक सेवाका क्षेत्रमा सहयोग गरिएको उनको भनाइ थियो ।

“हामी यो अभियानमार्फत स्वदेशमा कसरी रोजगारी बढाउन सकिन्छ भन्ने दीर्घकालीन सोचमा पनि छौँ”, अध्यक्ष गुरुङले भने, “प्रयोग गर्न मिल्ने एकका पुराना समान अर्कालाई सुपथ मूल्यमा प्रदान गरी आएको मूल्यलाई सामाजिक सेवामा लगाउँदै आएका छौँ ।”

आफूहरूले स्थापना गरेको सुखावती स्टोरमा हुने खानेले दान सहयोग गर्नसक्ने र हुँदा खानेले अति समान्य मूल्यमा लत्ताकपडा तथा अन्य सामग्री लिएर घर फर्कनसक्ने उनको भनाइ थियो ।

सुखावती स्टोरमा आफूले प्रयोग गर्न छोडेका तर अरुलाई उपयोग हुनसक्ने कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउनसक्ने जुनसुकै सामान पनि राख्ने गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

लत्ताकपडा, पुस्तक, झोला, भान्छा वा घरायसी प्रयोजनमा प्रयोग हुने भाँडाकुँडा, सजावटका सामग्री, खेलौना, जुत्ता-चप्पल, फर्निचरदेखि खाद्यान्न तथा तरकारीसमेत सङ्कलन तथा प्रशोधन गरी आफ्ना पसलबाट न्यूनतम मूल्यमा बिक्री गर्ने, त्यसरी सङ्कलन, प्रशोधन तथा बिक्रीबाट बचत भएको नाफा रकम सामाजिक हित वा मानवसेवामा खर्च गर्ने गरिएको उनले जानकारी गराए । 

मानवकल्याण, रोजगारी सिर्जना र खेर गइरहेको सामग्री यथासम्भव पुनःप्रयोग गर्ने संस्कृतिलाई जोड दिँदै वातावरण संरक्षणमा योगदान र शून्य फोहरको अवधारणा संस्थाले कार्यान्वयनमा ल्याएको छ ।

समाजमा कसैका लागि प्रयोजनहिन वा काम नलाग्ने भइरहेको समान सङ्कलन तथा प्रशोधन गरी त्यसलाई अन्यका लागि प्रयोगयोग्य बनाउन सके वातावरण संरक्षणमा टेवा पुग्ने अध्यक्ष गुरुङको भनाइ थियो ।

गरिबी न्यूनीकरण, वातावरण संरक्षण र रोजगारी सिर्जनाका लागि सामाजिक उद्यम सञ्चालन गर्ने फाउन्डेसनको लक्ष्य रहेको बताउँदै सचिव कमला गुरुङले आर्थिक तथा सामाजिक दृष्टिले पछि परेका वर्ग र समूहको आयआर्जन, स्वास्थ्य शिक्षा एवं जीविकोपार्जनमा योगदान पुर्याउँदै आइएको बताइन् । 

फाउन्डेसनका तर्फबाट वातावरण प्रदूषण न्यूनीकरणलाई जोड दिँदै विभिन्न व्यक्ति, सङ्घसंस्था सरकारी तथा गैरसरकारी क्षेत्रसँगको सहकार्यमा वातावरणीय सचेतना अभिवृद्धिलगायत कामलाई पनि सञ्चालन गर्दै आइएको उनले जानकारी दिए ।

पोखरामा शाखा सञ्चालनसँगै पावरहाउस क्षेत्रमा हालै सामाजिक सचेतना अभिवृद्धिको लक्ष्यका साथ गरिएको फोहर सङ्कलन अभियानमा चार टनभन्दा बढी फोहर सङ्कलन गरिएको सचिव गुरुङ्को भनाइ थियो  ।

वसुन्धराबाट सुखावती स्टोर सञ्चालन थालेको फाउन्डेसनका वनस्थली, नेपालटार र झम्सीखेलमा गरी तीन वटा स्टोर सञ्चालनमा आएकामा चौथो स्टोर पोखरामा स्थापना गरिएको उनले उल्लेख गरे । 

लामो समय वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा देखिएको ‘ब्युटीफुल स्टोर’जस्ता सामाजिक उद्यम देखेर यसरी पनि सेवा गर्न सकिन्छ भन्दै नेपालमा यसको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले बताए । 

स्टोरमा दाताबाट प्रदान गरिएका सामग्री सङ्कलन तथा सामग्री बिक्री गर्ने प्रयोजनका लागि काठमाडौँमा विभिन्न सात ठाउँमा दान बाकस राखिएको उनले जानकारी दिए । कतिपय दाताहरूले कम्पनीको कर्मचारीलाई सम्पर्क गरी दान दिन आफ्नै घर वा कार्यालयबाट सङ्कलनका लागि अनुरोध गर्ने गरेका छन् ।

सचिव कमला गुरुङका अनुसार पछिल्लो समय सामाजिक सञ्जालजस्तो फेसबुक, ट्वीटर, युट्युब, पत्रपत्रिका वा अन्य आमसञ्चारमाध्यम, ब्रोसर, इमेलबाटसमेत सुखावती स्टोरबारे जानकारी प्राप्त गरी दाताहरू आउने गरेका छन् ।

स्टोरले स्थापनाकालदेखि सन् २०२२ को अन्तसम्म ५७ हजार एकसय सात किलोग्राम सामग्री सङ्कलन गरेर बिक्री वितरण गरी पुनःप्रयोगमा ल्याइएको छ । बिक्रीबाट गत आव २०७८/७९ मा रु ४२ लाख १३ हजार आम्दानी भएको र सो आवमा रु ३७ लाख ७४ हजार खर्च भएको उनले जानकारी दिए । 

पछिल्लो समयममा स्टोरको प्रचार-प्रसार र लोकप्रियता बढेसँगै विभिन्न सामान दान गर्नेक्रम बढ्दै गएको सचिव गुरुङको भनाइ थियो । 

सुखावती स्टोरमा हाल १३ जनाले रोजगारी पाएका छन् । रोजगारी पाउनेमा अधिकांश महिला तथा फरक क्षमता भएका व्यक्ति छन् । 

संस्थाले २० महिलालाई सीपमूलक तालिम प्रदान गर्दै स्वरोजगार बन्न उत्प्रेरित गरेको छ भने मानवीय सहयोगअन्तर्गत मानवसेवा आश्रमलाई एक स्वास्थ्यकर्मी (नर्स)को व्यवस्था मिलाइ सहयोग गरेको छ । 

नेपालीको मुख्य चाड वडादसैँका अवसरमा अतिविपन्न, एकल महिला तथा अशक्त व्यक्तिलाई हाम्रो पनि दसैँ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष ३० जनालाई खाद्यान्न तथा नगद सहयोग उपलब्ध गराउने गरिएको सचिव गुरुङले जानकारी दिए । 

त्यस्तै न्यानो माया कार्यक्रमअन्तर्गत दुर्गम हिमाली मुगु जिल्लाका विभिन्न उमेर समूहका ४५ बालबालिकालाई न्यानो लत्ताकपडा वितरण, अतिविपन्न, असहाय र टुहुरा बालबालिकालाई शैक्षिक सहयोग, भूकम्पपीडितलाई सहयोगलगायत धेरै सामाजिक सहयोगका काम बढाइएको उनले बताए । 

“पोखरामा सञ्चालनमा आएको सुखावतीको नयाँ स्टोरमार्फत यस क्षेत्रमा सामाजिक सेवाका गतिविधि बढाउने हाम्रो लक्ष्य छ”, उनले भने, “हाम्रो अभियानमा पोखरेलीवासीको राम्रो साथ र सहयोग पाउने विश्वास गरेका छौँ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ