arrow

राष्ट्रपतिको चुनाव लड्न ट्रम्पलाई थप प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
donald-trump1.jpg
तस्बिर – फाइल ।

वासिङटन डीसी । अमेरिकामा हुन गइरहेको राष्ट्रपतिको आम निर्वाचनमा भाग लिने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा थप धक्का लागेको छ ।

सन २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका ट्रम्पलाई थप एक राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाएपछि उनी थप अप्ठयारोमा परेका छन् ।

अमेरिकामा पार्टीहरूले आन्तरिक निर्वाचनमार्फत उम्मेदवार चयनका लागि हाल चुनावी दौडमा लागिरहेका ट्रम्पलाई कोलोराडो पछि अब मेइन प्रान्तमा पनि पार्टीको आन्तरिक चुनावमा सहभागी हुन रोक लगाइएको छ ।

केही दिन अघि मात्र कोलोराडोको एक अदालतले राष्ट्रपतिको उम्मेदवारका लागि ट्रम्प अयोग्य बताउँदै उनलाई आन्तरिक निर्वाचनबाट बाहिरिन आदेश गरेको थियो।

कोलोराडोको अदालतको आदेश लगत्तै मेइन राज्यका निर्वाचन अधिकारीहरूले पनि ट्रम्पलाई त्यहाँ आन्तरिक निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचनको उम्मेद्वार हुनका लागि पार्टीको आन्तरिक प्रतिस्पर्धामा भाग लिनु पर्छ। उक्त प्रतिस्पर्धाको बलियो उम्मेदवारले मात्रै राष्ट्रपतिको उम्मेद्वार हुन पाउने परम्परा रहेको छ।

 विभिन्न सर्वेक्षणमा वर्तमान राष्ट्रपति जो बाइडेन भन्दा लोकप्रिय देखिएका ट्रम्पलाई अदालतका पछिल्ला निर्णयले ठूलै धक्का दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ