arrow

काम गर्न नसके प्रचण्डलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
gagan-thapa-2080-07-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन् । 

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे । उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रहिरहन नसक्ने बताए । 

उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे । उनले बालकुमारीमा बिहीबार भएको घटनाप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ । कांग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ । प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ । आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भाये त्यो दुःखद् घटना हो ।’

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले यस बारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने र सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरे ।

उनले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरे पनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । 

उनले भने, ‘एउटा पार्टी भित्रको निर्वाचन हामीलाई लाग्दो रहेछ, अर्को पार्टी बाहिरको लाग्दो रहेछ । यहाँ आउँदा अहिले पनि म ४ जना मानिस भेटेर आएको हो । एक जना २०१४ सालमा नेपाली कांग्रैसको सदस्यता लिनुभएको रहेछ । राष्ट्रिय सभामा मैले मौका पाउनुपर्यो भनेर मलाई भन्न आउनुभयो । अहिले यसो हेरेको राष्ट्रिय सभाको नौ जना उम्मेदवार बनाउनु छ । प्रदेशलाई जिम्मा दिएर पठायो, प्रदेशलाई तीन जना छान भनेर पठाएको, प्रत्येक प्रदेशले ३ सय जनाको नाम पठाएको छ । २१ सय मानिसको नाम छ । काँटछाँट गर्दा हजार पुग्छन् । सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ । छलफल हुन्छ, हुन्छ सभापतिले कोटको खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ । टाउको गन्ने हो । यति जना मान्छे छ, सभापतिज्युले भनेपछि धन्यवाद भने भइहाल्छ । अहिलेको सभापति मात्रै होइन, यो भन्दा पहिला स्व. सभापति सुशील कोईरालाको पालामा पनि त्यही हो, म भएपनि त्यही हो । अन्तिममा सभापतीले कोटको खल्तीबाट निकालने हो । सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छायाँ सभापतिले निकाल्नुहुन्छ । ८ लाख ७० हजार सदस्यलाई कसरी न्याय दिने । मौका त सबैलाई दिनुपर्छ । महासमिति बैठकमा म प्रस्ताव गर्छु, त्यसमा छलफल गरौँ ।’

महामन्त्री थापाले सरकारमा गएका मन्त्रीहरुले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ