arrow

राजनीतिक शत्रुहरूको लामो सूची बनाएकी हसिना

बंगलादेशमा हसिनाको उदय, निष्पक्ष निर्वाचन गराउन अमेरिकी दबाब 

हसिनाले अहिले लोकतन्त्रलाई नै खतरामा पारिरहेको आलोचकको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
sheikh-hasina-bangladesh-UN.jpg

काठमाडौँ । सन् २००७ मा प्रधानमन्त्री शेख हसिना बङ्गलादेशको विपक्षी नेता हुँदा सयौँ सैनिकले घरमा छापा मारेर उनलाई राजधानी ढाकाको एक अदालतमा लगे । उनलाई जबरजस्ती असुली गरेको आरोपमा पक्राउ गरिएको थियो । 

सन् १९९६ देखि सन् २००१ सम्म प्रधानमन्त्री रहिसकेकी हसिनाले ती आरोपलाई आगामी निर्वाचनमा उम्मेदवार हुनबाट रोक्न षड्यन्त्र गरिएको बताइन् । बङ्गलादेशमा सैन्य समर्थित अन्तरिम सरकारअन्तर्गत आपत्कालीन अवस्थामा फसेको त्यसबेला उनले आफ्ना जनताको अधिकारका लागि लडिरहेको बताएकी थिइन् । 

नजिकका सहयोगीका अनुसार उनलाई देश छाड्न वा कारागारमा बस्न विकल्प दिइएको थियो । उनले बङ्गलादेशमा रहने विकल्प छाने । एघार महिनापछि उनलाई रिहा गरियो र सन् २००८ मा उन पुनः प्रधानमन्त्रीमा निर्वाचित भइन् । 

अहिले उनी भारत र म्यान्माबीचमा रणनीतिकरूपमा अवस्थित १६ करोडभन्दा धेरै जनसङ्ख्या भएको मुख्यरूपमा मुस्लिम राष्ट्र बङ्गलादेशको इतिहासमा सबैभन्दा लमो समयसम्म सेवा गर्ने नेता हुन् । साथै आइतबारको आम निर्वाचनमा सत्तामा आफ्नो पकड बलियो बनाउन उनए तयार छिन् । 

आलोचकहरूका अनुसार यो निर्वाचन हसिनाको १५ वर्षको शासनपछि आएको छ जसले उनलाई लोकतन्त्रका लागि लड्ने नेताबाट लोकतन्त्रकै लागि सबैभन्दा खतरामध्येको एक बनाइदिएको छ । 

हसिनाको मुख्य प्रतिद्वन्द्वी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले जनवरी ७ मा हुन गइरहेको निर्वाचनलाई बहिष्कार गर्दैछ । बिएनपीले हसिनाको सरकारले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न नसक्ने बताएको छ । निर्वाचनले ७६ वर्षीया हसिनाका लागि प्रधानमन्त्री कार्यालयमा लगातार चौथो र समग्रमा पाँचौँ कार्यकाल सुरक्षित गर्ने मञ्च तयार गरेको छ । 

उनका समर्थकहरूले हसिना र उनको अवामी लिगले उनीहरूलाई नयाँ बङ्गलादेश दिएको बताउँछन् । समर्थकहरूका अनुसार बारम्बार विद्युत् कटौती हुने गरेको बङ्गलादेशमा अहिले उद्योग छन्, धेरै छात्रा स्कुल गइरहेका छन्, विकास परियोजनाहरूले गति लिएका छन् र युवा राष्ट्रको अशान्त इतिहासलाई हल्लाएको सैन्य विद्रोहलाई उनले ल्याउनुभएको स्थिरताले रोकेको छ । 

बीचमा यथास्थिति परिवर्तन गर्ने सम्भावना कम देख्ने निराश मतदाता छन् ।

सबै कसरी सुरु भयो ?
हसिनाको राजनीतिक जीवनले सन् १९७५ अगस्ट १५ मा सैन्य विद्रोह र उनका पिता एवं स्वतन्त्र बङ्गलादेशका पहिलो नेता शेख मुजिब रहमानको हत्याबाट आकार लिएको थियो । 

अठ्ठाइस वर्षीया हसिना आफ्नी सानी बहिनीसँग जर्मनीमा हुँदा उक्त भयानक रातमा सेनाका अधिकारीहरूको एउटा समूहले परिवारको ढाकास्थित घरमा आक्रमण गर्यो र उनका आमाबुबा, अन्य तीन भाइ-बहिनी तथा घरेलु कर्मचारी गरी कूल १८ जनाको हत्या गरेको थियो । 

कतिपयले क्रुर कार्यले उनलाई अभूतपूर्व शक्तिलाई सुदृढ गर्न उत्प्रेरित गरेको बताउँछन् । विश्लेषकहरूका अनुसार यसले उनको आफ्नो सम्पूर्ण राजनीतिक करियरमा उत्प्रेरित गरेको छ । लन्डनको एसओएस विश्वविद्यालयमा दक्षिण एसियाली रणनीतिक मामिलाका विशेषज्ञ एवं वरिष्ठ व्याख्याता अविनाश पालिवालले भने, “एक राजनीतिज्ञका रूपमा हसिनामा अत्यन्त शक्तिशाली गुण छ, त्यो भनेको आघातलाई हतियार बनाउने ।”

हसिनाका लागि बङ्गलादेशको सेनाले सन् १९७१ मा भारतको सहयोगमा पाकिस्तानलाई हराउँदा उनका पिता स्वतन्त्र बङ्गलादेशका संस्थापक थिए । 

हसिनासँग मिलेर काम गर्ने सहयोगीका अनुसार उनको महत्त्वाकांक्षाको केन्द्रविन्दु उनले कल्पना गरेको राष्ट्र निर्माण गर्नु रहेको थियो । 

एपीसँग नाम उल्लेख नगर्ने सर्तमा ती सहयोगीले भने, “उनलाई आफ्ना पिताको काम अधूरो रहेको र त्यो काम उनले मात्र पूरा गर्न सक्नुहुनेछ भन्ने लागेको छ ।”

हत्यापछि हसिना वर्षौंसम्म भारतमा निर्वासनमा रहिन् । फेरि उनले बङ्गलादेश फर्केर अवामी लिगको नेतृत्व गरिन् । 

यद्यपि सन् १९९६ मा आम निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री नभएसम्म सैन्य शासकहरूले उनलाई सन् १९८० को दशकसम्म घरभित्र र बाहिर नजरबन्दमा राखे । 

दुई महिला, दुई दल
त्यसपछि हसिना र बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का प्रमुख पूर्वप्रधानमन्त्री खालिदा जियाबीच दशकौँसम्म सत्ता सङ्घर्ष चल्यो । जिया अहिले बिरामी छिन् र घरमा नजरबन्द छिन् । 

बङ्गलादेशको राजनीतिलाई ध्रुवीकरण गर्ने कटु प्रतिस्पर्धामा दुवै महिलाले वर्षौंसम्म पालैपालो मुलुक चलाए । हसिनाले बारम्बार बिएनपीमाथि कट्टरपन्थीलाई बढावा दिएको आरोप लगाएकी छन् । 

आफूलाई उदारवादी तथा धर्मनिरपेक्ष भन्ने उनको पार्टीले कट्टरपन्थीलाई समाप्त पार्ने काम गरेको बताएको छ । 

जियाको बिएनपीले भने सत्तामा बसिरहनका लागि अवामी लिगले दमनकारी रणनीति प्रयोग गरिरहेको दाबी गरेको छ । 

यद्यपि विश्लेषकहरूका अनुसार फरक विचारधारा प्रस्ताव गरे पनि दुवै पार्टी चुनावी हिंसा र प्रतिशोधको राजनीतिको इतिहासले कलङ्कित छन् । 

हालै हसिनाको सरकारले डिसेम्बरमा एउटा यात्रुवाहक रेलमा आगो लाग्दा चार जनाको मृत्यु भएपछि बिएनपीमाथि आगजनी र तोडफोड गरेको आरोप लगाउँदै विपक्षी दलले निर्वाचनअघि अराजकता सिर्जना गर्ने कोसिस गरिरहेको बताएको थियो । 

बिएनपीले उक्त आरोपलाई अस्वीकार गरेको छ । 

उथलपुथलका वर्षहरू
हसिनाको पार्टीले सन् २००१ को आम निर्वाचनमा पराजय बेहोर्यो । त्यसपछि उनी पुनः विपक्षी नेता बनिन् । सन् २००८ मा उनी पुनः निर्वाचित नभएसम्म राजनीतिक हिंसा, अशान्ति र सैन्य हस्तक्षेप भए । 

यसपटक उनले आफ्नो ध्यान अर्थतन्त्रमा केन्द्रित गरेकी छन र बङ्गलादेशमा पहिला नदेखिएको पूर्वाधार निर्माण गरेकी छन् । टाढाका गाउँसम्म पुग्ने सुदृढ विद्युत् ग्रिड, राजमार्ग, रेलमार्ग र बन्दरगाह जस्ता परियोजनामा उनले ध्यान दिए । उनको नेतृत्वमा मुलुकको कपडा उद्योग विश्वको सबैभन्दा प्रतिस्पर्धी उद्योगमध्येको एक बनेको छ । 

ढाकामा रिक्सा चालक अब्दुल हलिमका अनुसार उनी प्रधानमन्त्री हसिनाको समर्थक हुन् । “तर हसिनाले हामीलाई बिजुली दिनुभयो”, उनले भने, “मेरो परिवारको घरमा कहिले पनि बिजुली हुँदैन भन्ने लाग्थ्यो, अहिले मेरो पूरै गाउँमा बिजुली छ ।”

विकासको लाभले अन्य प्रगति ल्यायो । छात्रालाई छात्रबराबर शिक्षित बनाइयो र महिलाहरू ठूलो सङ्ख्यामा कार्यबलमा सामेल भए । हसिनाका नजिकका मानिस हसिनालाई अत्यन्त मेहनती र महिला तथा गरिबहरूको उत्थानप्रति प्रतिबद्ध रहेको बताउँछन् । उनका समर्थकहरू उनलाई इस्लामी उग्रवादीको बढ्दो खतरालाई बेवास्ता गर्ने श्रेय दिन्छन् । 

ढाकामा अवामी लिगका विधायक मोहम्मद ए अराफातका अनुसार हसिनाले बङ्गलादेशलाई आर्थिक विकासका लागि जे गर्नुभएको छ, त्यो ‘अभूतपूर्व’ छ । 

आइतबारको भोट
निर्वाचनअघि हसिनाले ढाकाको मेट्रो वा सन् २०२१ मा उद्घाटन गरिएको मुलुकको सबैभन्दा लामो पुल जस्ता आफ्ना केही विशिष्ट उपलब्धिहरू देखाइन् । सन् २०३१ सम्ममा उच्च मध्यम आय भएको मुलुक बन्ने इच्छा राख्ने बङ्गलादेशमा उनले स्वयंलाई गरिब मुलुकको नेताका रूपमा प्रस्तुत गरिन् । 

सन् २०२३ मा उनले भनिन्, “बङ्गलादेशले फेरि पछाडि फर्केर हेर्नेछैन, यो एउटा स्मार्ट, विकसित र समृद्ध मुलुक बन्ने दिशामा अगाडि बढिरहने छ ।”

यद्यपि हालैको वैश्विक आर्थिक मन्दीले बङ्गलादेशलाई पनि छाडेको छैन । यसबाट मुलुकको अर्थतन्त्रमा दरारहरू उजागर गरेको छ र यसबाट श्रमिक अशान्ति र सरकारप्रति असन्तोष सिर्जना गरेको छ । 

ढाकामा एक चालक मोहम्मद शोहिदले आवश्यक वस्तुहरूको मूल्यवृद्धिलाई रोक्न सरकार असफल रहेको बताए। पछिल्लो दुई वर्षमा सिमी र गोलभेँडाको मूल्य करिब दुई गुणा भएको छ । “अब हामी उनलाई सहन सक्तैनौँ”, उनले भने । 

हसिनाका आलोचकहरूका अनुसार उनको सरकारले असहमतिलाई दबाउन, प्रेस स्वतन्त्रता सङ्कुचित गर्न र नागरिक समाजलाई सीमित गर्नका लागि कठोर उपकरण प्रयोग गरेको छ । अधिकार समूहले आलोचकहरूलाई जबरजस्ती बेपत्ता पारिएको बताएको छ । सरकारले ती आरोपलाई खारेज गरेको छ । 

सन् २०१८ को निर्वाचनको मतदानमा धाँधलीको व्यापक आरोपबीच अवामी लिग नेतृत्वको गठबन्धनले ९६ प्रतिशत निर्वाचन जितेको थियो र उक्त आरोपलाई अधिकारीहरूले अस्वीकार गरेका थिए । सन् २०१४ मा सबै प्रमुख विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेका थिए । 

बिएनपीका अनुसार हालैका महिनामा उसका करिब २० हजार सदस्यलाई आइतबारको निर्वाचनभन्दा अघि झुटो आरोपमा गिरफ्तार गरिएको छ र उसका हजारौँ समर्थकहरूले सडकहरूमा विरोध प्रदर्शन गरेका छन् । केही विरोध प्रदर्शन हिंसात्मक भएका छन् । 

जिया घरमा नजरबन्द हुनु र पार्टीका अन्य नेताहरू कारागारमा वा निर्वासनमा भएका कारण पर्यवेक्षकहरूले हसिनाको आगामी कार्यकाल व्यावहारिकरूमा तय भएको बताएका छन् । आलोचकहरूका अनुसार अवामी लिगका केही मानिस र केही साना दलका मानिस सहभागी भएको स्वतन्त्र उम्मेदवारहरूको शृङ्खला प्रतिस्पर्धालाई देखाउनका लागि गरिएको छ ।

अब के ?
हसिनाको सरकारले निर्वाचन समावेशी र निष्पक्ष भएकामा जोड दिएको छ र निर्वाचन प्रतिस्पर्धाबाट बाहिर भएकामा बिएनपीको आलोचना गरेको छ । यद्यपि केही विश्लेषकहरूका अनुसार निर्वाचनले बङ्गलादेशको लोकतन्त्रमा सङ्कटको व्यापक सङ्केतलाई प्रतिविम्बित गरेको छ । 

विश्वविद्यालयका व्याख्याता पालिवालले भने, “हसिनाको निर्णय लिने प्रक्रियामा निरङ्कुश गिरावटको इतिहास छ, विद्यमान निर्वाचन पूर्ण विकसित एकदलीय मुलुकमा अन्तिम छाप हुन सक्छ ।”

ढाका निवासी ४६ वर्षीय तमन्ना रहमानजस्ता मतदाताहरूका अनुसार प्रधानमन्त्रीसामु कुनै वास्तविक चुनौती छैन । “हामीसँग हसिनालाई पुनः निर्वाचित गर्नुको कुनै विकल्प छैन”, उनले भने । 

अन्तर्राष्ट्रिय मञ्चमा हसिनाले शक्तिशाली मुलुकहरूसँग सम्बन्ध बनाउनुभएको छ र प्रतिद्वन्द्वीहरूबीच पनि सफलतापूर्वक सन्तुलन कायम गरेकी छन् । 

भारत र चीनबीच विवादित सीमा क्षेत्रलाई लिएर आमनेसामने भए पनि उनी दृढतापूर्वक दुवै मुलुकलाई समर्थन गर्छिन् । बदलामा बेइजिङ र नयाँदिल्लीले बङ्गलादेशका धेरै पूर्वाधार परियोजनामा लगानी गरेका छन् । 

युक्रेनमाथि आक्रमणका कारण पश्चिमका अधिकांश मानिसले रुससँग दूरी कायम गरे पनि हसिनाले रुससँग बङ्गलादेशको ऐतिहासिक सम्बन्धलाई पनि बढावा दिएकी छन् । यहाँसम्म कि उनले तीव्ररूपमा पश्चिमी नेताहरूसँग मेलमिलाप बढाइरहेकी छन्। 

विल्सन सेन्टरका साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलमेनले भने, “तपाईं हसिनाका बारेमा जेसुकै भन्नुहोस् तर उनले महान शक्ति प्रतियोगितालाई अत्यन्त प्रभावकारीरूपमा व्यवस्थापन गर्नुभएको छ ।”

हसिनाले सन् २०१७ मा छिमेकी म्यान्मामा अभियोगबाट भागेका रोहिङ्ग्या मुसलमानहरूलाई शरण दिएर अन्तर्राष्ट्रियस्तरमा प्रशंसा हासिल गरेकी छन् । 

करिब ११ लाख रोहिङ्ग्या अहिले बङ्गलादेशमा भीडभाडपूर्ण शरणार्थी शिविरमा बस्छन् र तीमध्ये असङ्ख्य अन्यत्र राम्रो जीवनको सम्भावनाका लागि खतरनाक सामुद्रिक यात्रामा मर्ने गर्छन् । 

बङ्गलादेशको तयारी पोशाकको सबैभन्दा ठूलो निर्यात बजार अमेरिकाले मे महिनामा बङ्गलादेशमा निर्वाचन प्रक्रियालाई अवरोध गर्ने कुनै पनि व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गर्यो । 

वासिङ्टनले बङ्गलादेशमा मानवअधिकारको उल्लङ्घन र प्रेस स्वतन्त्रतामाथि चिन्ता व्यक्त गरेपछि उक्त घोषणा आएको हो । 

विश्लेषकहरूले उक्त कदमलाई हसिनामाथि निष्पक्ष निर्वाचन गराउन दबाब दिने प्रयासका रूपमा हेरेका छन् । उनले अमेरिकामाथि आफूलाई सत्ताबाट हटाउने कोसिस गरेको आरोप लगाउँदै जवाफ दिइन् । 

यद्यपि हालै एक पत्रकार सम्मेलनका क्रममा उनमाथि केही दबाब रहेको स्पष्ट भएको छ । “तपाईंले धेरै बोल्नुभयो भने म सबै बन्द गरिदिन्छु”, उनले भनिन् । 

ढाकास्थित सेन्टर फर गभर्नेन्स स्टडिजका निर्देशक जिल्लुर रहमानका अनुसार १९ वटा हत्या प्रयासमा बाँचेकी र राजनीतिक शत्रुहरूको लामो सूची बनाएकी हसिनासँग ‘कुनै सुरक्षित निकास छैन ।’ “उहाँ सधैँ खतरामा हुनुहुन्छ र उहाँलाई सत्तामा रहनु छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ