arrow

अनुभवी कृष्ण सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
krishna-sitaula-congress.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका अनुभवी नेता कृष्णप्रसाद सिटौलालाई नेपाली कांग्रेसले राष्ट्रिय सभामा टिकट दिएको छ । उनलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी नै टिकट दिएको सभापति शेरबहादुर देउवा निकट स्रोतले बताएको छ । 

सिटौला निकटस्थहरुले पनि राष्ट्रिय सभा अध्यक्ष नै बन्ने गरी सिटौलाले टिकट लिएको बताएका छन् । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत राष्ट्रिय सभा अध्यक्ष बनाउन राजी भएपछि देउवाले सिटौलालाई टिकट दिएको दाबी गरिएको छ । 

उनले कोशी प्रदेशबाट अन्य कोटातर्फ टिकट पाएका हुन् । टिकट पाएसँगै सिटौला टिकट लिएर आइतबार राति नै विराटनगरको फ्लाइट पकडेर विराटनगर पुगेका छन् । 

त्यसो त पहिलेदेखि नै सिटौलाले कोशीबाट टिकट पाउने निश्चितजस्तै थियो । सोमबार उम्मेदवारी दर्ता गर्ने समय भएकाले उनी टिकट लिएर विराटनगर गएका हुन् । 

आगामी फागुन २० गते हालका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको कार्यकाल सकिँदै गर्दा सिटौलाले उक्त गरिमामय पद हासिल गर्ने अपेक्षा गरिएको छ । 

शान्ति प्रक्रियामा गिरिजाबाबुका सारथी
सशस्त्र द्वन्द्वमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले निकै ठूलो जोखिम उठाएका थिए । 

कोइरालाका सारथी थिए सिटौला । गिरिजाबाबु यतिसम्म विश्वस्त थिए कि सिटौलाले माओवादीका नेताहरुलाई पटक पटक भेटेर गिरिजाबाबुको सन्देश पुर्याउने गरेका थिए । सिटौलाले गिरिजाबाबुको मन जितेका थिए । 

जब माओवादी र सरकारबीच शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यतिबेला गिरिजाबाबु प्रधानमन्त्री थिए भने सिटौला गृहमन्त्री । 

माओवादीलाई राजनीतिको मूलधारमा ल्याइसकेपछि २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन भयो । 

त्यतिबेला गिरिजाबाबु र सिटौलालाई राम्रोसँग थाहा थियो कि चुनावमा कांग्रेसले जित्दैन । सिटौलाले यसबारेमा गिरिजाबाबुसँग छलफल गरेका भए पनि गिरिजाबाबुले चुनाव भए कांग्रेस हार्छ तर चुनाव नभए देश हार्छ भनेरै अगाडि बढेका थिए । 

आफैँ गृहमन्त्री भएर चुनाव हार्ने सिटौला नेपाली इतिहासका पहिलो गृहमन्त्री थिए । उनले हारे पनि नयाँ व्यवस्थाले जितिरहेको छ । 

तर अझै पनि शान्ति प्रक्रिया टुंगोमा पुगेको छैन । यसलाई टुंगोमा पुर्याउन पनि सिटौलाले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने विश्वास माओवादीले पनि लिएर हुन सक्छ उनी राष्ट्रिय सभाको अध्यक्ष नै बन्ने गरी टिकट लिएर विराटनगर पुगेको बताइन्छ । 

देउवाले पनि सिटौलालाई राष्ट्रिय सभाको टिकट दिएर सही निर्णय गरेको भनी प्रतिक्रिया पाइरहेका छन् । 

पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभाको उम्मेदवारका लागि छुट्टाएको मापदण्डमा ‘अनुभवी’ भन्ने शब्द राखिनु पनि सिटौलाका लागि राखिएको भन्ने चर्चा त्यतिबेला नै आएको थियो । 

राजनीतिमा सिटौला  
सिटौलाको योगदान माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि त भयो नै कांग्रेसमा पनि उनको भूमिका अहम् छ । उनी पूर्व महामन्त्री हुन् । यद्यपि सभापति भने बन्न सकेनन् । 

पार्टीको १३ औँ महाधिवेशनमा उनी सभापतिका उम्मेदवार थिए । देउवा र हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्यानल खडा गरेकामा सिटौलाले हालका महामन्त्री गगनकुमार थापासहित युवाहरुको सानो टिक बनाएर आफूलाई तेस्रो धार निर्माण गरेका थिए । 

तर सिटौलासहित उनको छोटो टिमका सबै पराजित भए । सिटौलाले अन्तिममा आएर देउवालाई साथ दिए र देउवाले चुनाव जिते । 

१४ औँ महाधिवेशनमा सिटौला चुनाव लडेनन् । उनको टिममा पनि केही फेरबदल आयो । उनको टिम शुरुआती चरणदेखि नै देउवा पक्षबाट चुनाव लड्यो । सिटौला चुनाव लडेनन् । 

सिटौलाले प्रतिनिधि सभाको चुनाव हारेको भए पनि समयको माग भनौँ वा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने अभिभारा भनौँ अहिले देउवाले आफूमाथि गरेको सहयोगको सम्मान गरेका छन् ।

७७ वर्षीय सिटौलाको सक्रिय राजनीतिले कोल्टे फेर्दै गर्दा एकपटक फेरि सही गन्तव्यमा पुगेका छन् । भोट क्रस नभएमा सिटौला स्वतः निर्वाचित हुनेछन् । किनकि कोशीमा गठबन्धन दलसँग पाँच हजार ४३६ मतभार छ । एमालेको मतभार चार हजार २४८ मतभार रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ