arrow

सभामुख घिमिरे भन्छन् – अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेलीले थाहा पाउनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
devraj-ghimire-pokhara.jpg

पोखरा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्नु दुःखद् भएको बताएका छन् ।

‘ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद् कुरा हो’, सभामुख घिमिरेले भने । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने उनको भनाइ छ ।

‘के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्छ’, उनले भने ।
पोखराको युनाइटेड क्लवको आयोजनामा अमरसिंहचौरमा सुरु भएको बाह्रौँ संस्करणको पोखरा महोत्सव उद्घाटन गर्दै सभामुख घिमिरेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जतिसक्दो चाँडो नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले युनाइटेड क्लवको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा समावेश गर्नुपर्नेमा जोड दिए । सेती नदीलाई पर्यटनसँग जोड्न तीनवटै तहका सरकारको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

सभामुख घिमिरेले महोत्सवको माध्यमबाट युवाहरुलाई देश विकासमा लगाउन सकिन्छ भन्ने कुरा युनाईटेड क्लवले उजागर गरेको बताए । महोत्सवले देशको कला र संस्कारलाई समेत उजागर गरेको जनताको विचमा संस्कृित कलाको प्रचारप्रसारमा टेवा पुर्याएको भन्दै घिमिरेले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा गरेको काम प्रशंसनीय रहेकोसमेत बताए । सेती नदीलाई पर्यटनसँग जोड्न स्थानीय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा उनको जोड छ ।

गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले युनाइटेड क्लवले राज्यको पहुँच नपुगेको क्षेत्रमा सामजिक काम गरि जनतालाई सहयोग गरेको बताइन् ।

प्रतिनिधिसभा सदस्य शिव नेपालीले आर्थिक चलायमानमा महोत्सवले सहयोग गर्ने बताउँदै यूनाइटेड क्लवले महोत्सव मार्फत सामाजिक काममा अग्रसर रहेकोमा अन्य संघ संस्थाहरुले पनि यूनाइटेड क्लबको अनुशरण गर्नुपर्ने बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले कला संस्कृति बचाउने बताउँदै पोखरा महोत्सवसँग सहकार्य गरेर प्रदेशको कला र संस्कृतिको संरक्षणमा लाग्नेसमेत बताए ।

गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य वेदबहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवहरुका बीचमा पनि छुट्टै पहिचान बनाउन सफल भएको बताए । गुरुङले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गरिदिन सभामुख समक्ष आग्रहसमेत गरे ।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लवले गरेको बताउँदै पोखरा महोत्सवको आयोजना गरी सामाजिक उत्तरदायित्व संगै व्यापार व्यवशायलाई समेत प्रवर्द्धन गरेको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेकाले महोत्सवमार्फत विभिन्न जनचेतनामूलक क्रियाकलापसमेत सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं. १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममार्फत उत्कृष्ट काम गरेको र आफ्नो वडालेसमेत सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

यस्तै, अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले पोखरा महोत्सव आफैमा ब्राण्ड बनिसकेको बताउँदै पोखरा महोत्सवसंग सहकार्य गरी सामाजिक सेवामा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए ।

यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको उद्देश्यमाथि प्रकाश पारेका थिए । त्यसअघि पोखरा रंगशाला गेटबाट सुरु भएको झांँकी र्याली महोत्सव स्थलमा पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ