arrow

आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जना प्रतिस्पर्धामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकका लागि खुलेको आवेदन बन्द भएको छ । आवेदन बन्द हुँदासम्म १४ जनाले दरखास्त बुझाएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न २१ दिनको समय दिएर सूचना प्रकाशन गरेको थियो।

जसमा १४ जनाको आवेदन परेको हो । आवेदन दिनेमा महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, ई सहदेव चन्द, दिलिप शेखर श्रेष्ठ, चितवनका ई. डा. डोलप्रसाद चापागाई,  मोरङका पंकजकुमार दास, माधव रेग्मी, ई. आमोदप्रसाद चौधरी, धनुषाका रामदेव यादव, सप्तरीका संजिवकुमार देव, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बाग्लुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीले आवेदन दिएका हुन् । 

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मंसिर २६ मा पदबाट राजीनामा दिएका थिए। कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका अध्यक्ष, विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र  इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थानीलाई सरकारले २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो ।

उनले कार्यकाल सकिनु १५ महिनाअगावै पदबाट राजीनामा दिएपछि मन्त्रालयले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको हो । थानीको कार्यकालमा निगमले आफ्नो ५० अर्ब रुपैयाँ ऋण घटाएको थियो। निगम हाल नाफामा छ । 

मन्त्रालयले १४ जना मध्येबाट ३ जना प्रतिस्पर्धीको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । त्यसपछि सरकारले ३ जना मध्येबाट १ जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।    

सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त खुलाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ