काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राख्ने निर्णय गरेको छ। निगमले असार १ गते सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा कायम रहेको इन्धनको मूल्यमा कुनै फेरबदल नगरी यथावत राखिएको जानकारी दिएको हो।
विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव आएका कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमले स्पष्ट पारेको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त भएको नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको असार ०१ को निर्णयानुसार असार २ गते मंगलबार १२ बजेदेखि लागु हुने गरी साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिइएको हो।
निगमको नयाँ मूल्यसूची अनुसार विभिन्न वर्गमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तोकिएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज समेटिएको पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर दुई सय १४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई सय २२ रुपैयाँ ५० पैसा कायम रहेको छ।
सुर्खेत र दाङ समावेश भएको दोस्रो वर्गमा उपभोक्ताले पेट्रोल प्रतिलिटर दुई सय १६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर दुई सय २४ रुपैयाँमा खरिद गर्नुपर्नेछ। त्यसैगरी काठमाडौँ, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर दुई सय १७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई सय २५ रुपैयाँ नै यथावत रहने निगमले जनाएको छ।
अमेरिका र इरानबीच शुक्रबार युद्ध रोक्ने सम्झौता हुँदै गर्दा तेलको भाउ पनि घट्ने अपेक्षा गरिएको छ ।