arrow

युवा पलायन रोक्न रोजगारी सिर्जना हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
anjan-shrestha-pcci-pokhara-haripanta.jpg

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले युवा पलायन रोक्नका लागि आर्थिक वृद्धिसँगैको रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिएका छन् ।

मासिक ५०/६० हजारदेखि ३ लाख रुयैयाँसम्म तलव खानेहरुले पनि देश छाडिरहेको भन्दै श्रेष्ठले अहिले मनोवृत्ति नै विदेश जानुपर्छ भन्ने देखिएकोले उनीहरुलाई चाहेर पनि रोक्न नसकिएको उल्लेख गरे । 

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘दक्ष जनशक्ति पलायन रोक्ने हो भने उनीहरुको ईच्छा र आकांक्षालाई संवोधन गरिनुपर्छ ।’

विदेश जानेहरुलाई गाली गरेर, अर्ति-उपदेश दिएर समस्या समाधान नहुने श्रेष्ठले स्पष्ट पारे । नेपालको निजी क्षेत्र दक्ष जनशक्ति पलायनप्रति गम्भीर रहेको भन्दै उनले यसलाई रोक्नका लागि सरकारसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे ।

सरकारले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताइरहेपनि माग घट्दा उत्पादन बढ्न नसकेको र सिंगो निजी क्षेत्र उदासिन बनेको उनले दुःखेसो पोखे ।

हिजो अर्थतन्त्रलाई सही दिशा दिने भन्दै गलत नीति अवलम्वन गरिँदा अर्थतन्त्रलाई गिज्याउने काम भएको उनले त्यसैको असरले आज सञ्कुचनको अवस्था सृजना भएको आरोप लगाए । उनले सञ्कुचित अर्थतन्त्रलाई लयमा लैजान माग बढाउन सक्नुपर्ने र निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्नेमा जोड दिए । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दीगो संचालनको भारतीय सीमा नाकामा रहेका धनगढीदेखि भद्रपुृरसम्मका ८ वटा शहरहरुमा तत्काल उडान थाल्नुपर्नेमा उनले जोड दिए ।

सीमा नाकामा दैनिक उडान भयो भने भारतीय पर्यटक आकर्षित गर्न सकिने र त्यसका लागि नेपाल हवाइ उड्डयन कार्यालयले विमानस्थलको शुल्क घटाउनुपर्ने खाँचो औंल्याए । पोखरामा पर्यटन व्यवसायीहरुले पनि निश्चित समयसम्मका लागि होटलमा भारी छुट दिन आवश्यक रहेको उनले बताए ।

महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषिको व्यावसायिकरण र उत्पादकत्व वृद्धिलेमात्र युवा पलायन रोक्न सकिने बताए । महासंघले साना तथा मझौला व्यवसायीहरुले भोग्नुपरेको समस्या समाधानका लागि योजनावद्धरुपले काम अगाडि बढाएको पनि उनको जानकारी दिए । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंकको ब्याजदर घटेपनि लगानीको लागि वातावरण नबनेको बताए । सुस्ताएको बजार चलायमान हुन नसकेको र साना तथा मझौला उद्योगहरु अहिले पनि समस्यामै रहेको उनले स्पष्ट पारे ।

उनले राजमार्गको स्तरोन्नतिमा भएको ढिलाइ र पोखराबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताका लागि दबाब दिन महासंघसँग आग्रह गरे । 

‘पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो र यसको संचालन नहुनु भनेको राष्ट्रकै असफलता हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ,’ उनले भने ।

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखरा विमानस्थलको दीगो सञ्चालनका लागि आवश्यक परे दबाबमूलक कार्यक्रम गर्न तयार रहेको बताउँदै राज्यको ठूलो लगानी परेका परियोजनाहरु सञ्चालनमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, व्यवसायीहरु हीरा भट्टराई, बालकृष्ण कोइराला, बुद्धि पूर्जा, पृथ्वीराज शर्मा, कृष्ण कोइराला, भरत विक, सुदीप प्रधानाङ्ग, युवकबहादुर बस्नेतलगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ