arrow

सगुना जसले एकै वर्षमा लोकसेवा आयोगका सात परीक्षामा निकालिन् नाम  

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० माघ ७ आइतबार
saguna-pariyar-loksewa-7pas.jpg

मुगु । जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउँदैनन् भनेर निराश हुने र विदेशिक रोजगारीको सोच राख्नेहरुका लागि मुगुकी सगुना परियारले एक वर्षभित्र लोगसेवाका ७ परीक्षामा नाम निकाल्न सफल भएर मेहनत गरेमा आफ्नै देशमा पनि रोजगारी पाउन सकिन्छ भन्ने गतिलो जवाफ दिएकी  छिन् । 

मुगुकी २५ वर्षीया स्टाफ नर्स सगुना जसले आफूभित्रको आत्मविश्वासलाई देखाएकी छिन् भने दृढ संकल्पलाई सफलतामा परिणत गर्न सफल भएकी छिन् ।  

मुगुको छायाँनाथ रारा नगरपालिका–१, छत्यालवाडा गाउँ कि सगुना एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी छिन् । 

हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजा नाम निस्केसँगै सगुनाले एकै वर्षमा ७ ओटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् । 

उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन् । 

दुर्गम ठाउँ भएकाले सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने उनलाई केही थाहा हुँदैन थियो । मुगु दुर्गम जिल्ला,गरिव तथा दलित परिवारकी उनलाई नर्सिङ पेशासम्मको यात्रा उनका लागि सहज पनि थिएन । 

सानैदेखि नर्स बन्ने सपना बुनेकी उनी पढाइमा अब्बल नै थिइन् । परिवारको पूर्ण साथ पाएकी उनले जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन् । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ब्याक भएकी सगुनाले यसपटक छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् ।

उनले सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भए लगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन् । 

नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनी थिइन् । तर कोरोना महामारीका कारण रोकियो । 

कोरोना महामारीकै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुलायो । त्यसपछि उनी लोकसेवा तयारी गर्न जागिर छोडेर काठमाडौँ पुगिन् । काठमाडौँमा एक महिना जस्तो तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो । 

त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षा पश्चात् नाम निस्के ठीकै छ, खाली किन बस्ने भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् ।

 त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् । 

आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउँछिन् । ‘आफूभित्र चाहना, इच्छा र त्यहीअनुसार दृढता र लगाव हुनुपर्‍यो असम्भव भन्ने केही छैन, अवसरका लागि विदेशिनु नि पर्दैन, विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’ उनले भनिन् । 

नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन्, उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको बताउँछिन् सगुना । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने, भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई विदेशिनु पर्ने बाध्यता पनि हुन सक्ने उनको बुझाइ छ । 

सगुनाले आफ्नै गाउँ नजिक रहेको सामुदायिक विधालय महाकाली माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरी एसएलसी उत्तिण गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ