arrow

मानव धर्मको परोपकारी अभियान: ४३ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
manav-dharma-copy.jpg

काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले देशका ४३ वटा विद्यालयका करिब चार हजार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व श्री विभुजी महाराजको जन्मोत्सवको अवसर पारेर समितिले ३ हजार ८ सय ४७ जना विद्यार्थीहरूलाई कापी, कलम, स्कुल ब्याग र स्वेटर लगायतका सामग्री बाँडेको हो।

२०८२ माघ ५ देखि १२ गतेसम्म सञ्चालित यो सप्ताहव्यापी अभियानमा समितिका देशभरका शाखा आश्रमहरू सहभागी भएका थिए। ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको संस्थाकी केन्द्र प्रमुख महात्मा चमेली बाईजीले बताइन्। 

उनका अनुसार काठमाडौँ उपत्यकाकै कतिपय दुर्गम स्थानमा रहेका विद्यार्थीहरूसँग वर्षभरि पुग्ने कापी कलम किन्ने समेत क्षमता छैन। ललितपुरको गोटिखेल र चन्दनपुर जस्ता क्षेत्रमा पुग्दा विकट जिल्ला पुगेको अनुभव हुने बताउँदै उनले विद्यार्थीहरूको मुहारमा छाएको खुसीले आफूलाई निकै प्रफुल्लित बनाएको उल्लेख गरिन्।

यसैगरी, प्रचार समितिकी सचिव महात्मा लता बाईजीका अनुसार संस्थाले सम्पन्न र विपन्न विद्यार्थीबीच पुलको काम गरिरहेको छ। यसका लागि संस्थाले सहरका निजी विद्यालयहरूमा बक्स राख्ने गर्छ, जहाँ विद्यार्थीहरूले आफ्नो गच्छेअनुसार कापी, पेन र पेन्सिल जम्मा गरिदिन्छन्। 

त्यही सामग्री सङ्कलन गरेर संस्थाका युवाहरू दुर्गमका सरकारी विद्यालयमा पुग्ने गर्छन्। युवा सङ्गठनका केन्द्रीय संयोजक राजिव पौडेलले सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्दै यो शिक्षा अभियानलाई वर्षैभरि निरन्तरता दिने बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ