arrow

‘खलो’का भरमा २८ वर्षदेखि गाउँको सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
katuwal-information.jpg
तस्बिर-फाइल

म्याग्दी । शनिबार बिहान झिसमिसेमै हुकलुङमा पुगेर भैँसीले गहुँ र केरामा पुर्‍याएको क्षतिको मूल्याङ्कन गरेर फर्किएका धवलागिरि गाउँपालिका-७ ताकमका कटुवाल भक्तवीर विक बिहान १० बजेसम्म उद्योग वाणिज्य सङ्घ धवलागिरि इकाइको तेस्रो अधिवेशनको सूचना प्रवाह गराउन टोलटोलमा पुगेर ‘घोक’ हाल्दै थिए ।

अधिवेशनमा इकाइबाट प्रशंसापत्रसहित सम्मानित भएका ६८ वर्षीय भक्तवीर अपराह्न विवाहका लागि निम्ताको कार्ड बाँड्न गाउँमा निस्किए । “धारापानीका तीन वटा भैँसीले हुकलुङमा आएर २७ घारी केरा र गहुँ खाइदिएको रहेछ । अर्मल (जरिवाना) तोकेर आएको हो”, हत्तारिँदै भक्तवीरले भने, “नेत्रलाल मास्टरको छोरीको पर्सी हुन लागेको विवाहकोे निम्ता कार्ड साँझसम्म बाँडिसक्नुपर्छ ।”

छब्बीस वर्षदेखि ताकमका कटुवालको दिनचर्या यसरी नै बितेको छ । गाउँमा हुने भेला, बैठकको सूचना प्रवाह गराउने, गाईबस्तुले खेतीबाली खाएर पुर्‍याएको क्षतिको मूल्याङ्कन गर्ने र विवाह, व्रतबन्ध, छेवार र किरियाको निम्ता बाँड्ने जिम्मेवारी पूरा गर्न उनी प्रायः व्यस्त छन् ।

सूचना प्रविधि र सञ्चारमाध्यमको विकास तथा पहुँच भए पनि ताकमका बासिन्दाका लागि भक्तवीर विश्वासिलो सन्देशवाहक बनेका स्थानीयवासी रमाकान्त पौडेलले बताए ।

“कटुवालले घोक हालेर सुनाएको र घरमा आएर भनेको सूचनालाई नै हामीले आधिकारिक मान्ने गरेका छाैँ”, उनले भने, “सामाजिक सञ्जालमा पनि सूचना आउँछ तर त्यसलाई विश्वास गरिँदैन ।”

विसं २०५४ मा ताकमका जनप्रतिनिधि र अगुवाहरुले भक्तवीरलाई कटुवाल नियुक्त गरेका थिए । ऐतिहासिक तथा धार्मिकस्थल ताकमकोटमा फेटा गुथाएर र अबिरजात्रा गरेर कटुवाल नियुक्त गरिएपछि भक्तवीरले गाउँलेलाई सही सूचना प्रवाह गर्न अन्नपूर्ण र जगन्नाथ देवतासँग कसम खाएको स्मरण गरें । सबै घरमा सुनिने गरेर उहाँ पाँच वटा अग्ला डाँडामा पुगी चिच्याएर सूचना दिने गर्छन् । चिच्चाउने कामलाई स्थानीय भाषामा ‘घोक’ हाल्ने भनिन्छ ।

जनप्रतिनिधि, कर्मचारी, विद्यालय, वन उपभोक्ता समूह, युवा क्लब, आमासमूह र टोल विकास संस्थासँग समन्वय गरेर सूचना प्रवाह गराउने काम गर्दै आएका भक्तवीरका लागि तलब तथा अन्य सुविधाको व्यवस्था छैन ।

“साविक ताकम गाविसको चार वटा वडाका ३ सय ५५ घरधुरीले एक-एक पाथीका दरले वैशाखमा गहुँ, मङ्सिरमा धान र असोजमा मकै खलो दिन्छन्”, उनले भने, “गाउँलेले दिएको अन्नले मेरो परिवारलाई खान पुगेको छ । मागेर खानुपरेको छैन । आफ्नै पौरखमा परिवार पालेको छु ।” बालीघरे प्रथामा आधारित पेसा गर्नेलाई ज्यालाबापत दिने अन्नलाई ‘खलो’ भनिन्छ ।

कटुवाल पेसाबाटै भक्तवीरले पाँच छोरीहरूलाई पढाउने र बिहेबारी गरेको बताए । हाल घरमा उनकी श्रीमती बोल्न नसक्ने अपाङ्ग छन् । आफूभन्दा कमजोर अवस्थाका घरबाट खलो नलिने गरेको भक्तवीरले बताए ।

वडा नं ७ का वडाध्यक्ष अशोक खत्रीले उहाँ बफादार र इमान्दार भएकाले २६ वर्षसम्म एउटै पेसामा टिकेको बताए । “भक्तवीरलाई ताकमका सबैले विश्वास गर्छन् । सबैसँग समान र स्पष्ट व्यवहार गर्नु उहाँको विशेषता हो”, उनले भने, “पशुले बालीमा पुर्‍याएको क्षतिको अर्मल गर्ने जिम्मेवारी पनि भक्तवीरलाई नै दिएका छौँ ।”

गाउँपालिका हुनुअघि तत्कालीन गाविस कार्यालयले उहाँलाई मासिक रु एक हजारका दरले सञ्चार खर्च उपलब्ध गराउँदै आएको थियो । पछिल्लो पटक गाउँपालिकाले सबै कटुवाललाई माइक खरिद गरेर वितरण गरेको थियो । गाउँपालिका भएपछि मासिकरूपमा रु एक हजारका दरले पाउँदै आएको सुविधा काटिएकामा भक्तवीरले गुनासो गरें ।

गाउँका सबैले चिन्ने र सुखदुःखमा सँगै रहन पाएकामा खुसी लागे पनि कामको चाप र दौडधूप गर्नुपर्दा कठिन भएकाले अब यसै वर्षदेखि कटुवालबाट विश्राम लिएर व्यावसायिक सुन्तलाखेती गर्ने योजना बनाएको उनले सुनाए । रासस



नयाँ