arrow

पर्वतमा लाटोकोसेरो उत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
owl.jpg

पर्वत । किसानको साथीका रुपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी शिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ ।

प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला गाउँपालिका-५ लोप्रेमा यही माघ १९ र २० गते लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।

‘प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरु’ नामक संस्था तथा गाउँपालिकाकोे आयोजनामा दुई दिनसम्म उत्सव गर्न थालिएको हो ।

उत्सवमा लाटोकोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा परिचर्चा गरिने भएको छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा लाटोकोसेरो संरक्षण अभियानकर्मी राजु आचार्यले जानकारी दिए ।

अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथी नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

लाटोकोसेरो तथा हुचिल उत्सव नेपालबाहेक अमेरिका र इटालीमा मात्र हुँदै आएको छ । संरक्षणका हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको आचार्यले बताए ।

यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलालीमा उत्सव आयोजना गरिएको छ ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटोकोसेरो उत्सवमा लाटोकोसेरो सम्बन्धी जानकारी भएको सूचना, चित्र तथा तस्बिर प्रदर्शनी, लाटोकोसेरोको नमुना चित्रकलासमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

उत्सव आयोजना गरिनुपूर्व नै जलजलाका विभिन्न विद्यालय र समुदायमा पुगेर लाटोकोसेरो तथा हुचिलको महत्व र अवस्थाका बारेमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर लाटोकोसेरोको संरक्षण गर्नुपर्ने विषयमा स्थानीयलाई जानकारी गराइसकिएको छ ।

उक्त अवधिमा लाटोकोसेरो तथा हुचिलका बारेमा कविता तथा निबन्ध प्रतियोगिता सम्भावित क्षेत्रको अवलोकनलगायतका काम गरिसकिएका छन् ।

उत्सवका अवसरमा लोपोन्मुख स्थानीय खेल ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, एकखुट्टे प्रदर्शनीसहित भजन, पञ्चेबाजा, यानीमाया, पुख्र्यौंली नाच, सालैजो गाउने र बजाउनेलगायत कार्यक्रम राखिएका छन् ।

वन विज्ञान अध्ययन संस्थान पोखराको पनि विशेष प्रस्तुति रहने कार्यक्रममा चरा तथा प्रकृतिको अवलोकनका साथै लाटोकोसेरो तथा हुचिलको अस्थायी सङ्ग्रहालयको पनि निर्माण गरिने आयोजकले बताएको छ ।

यस्तै हुचिल संरक्षणसम्बन्धी प्रवचन, नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मुकुट प्रदर्शनी, लाटोकोसेरोको आवाज सुन्ने र एक फिट अग्लो रोबोट प्रदर्शनी, लाटोकोसेरोका बारेमा फोटो प्रदर्शनी तथा जानकारी, स्थानीय सामग्रीको प्रदर्शनी एवं बिक्री र प्रकृति संरक्षण पुरस्कार वितरण गर्ने काम पनि उत्सवकै अवसरमा हुनेछन् ।

रु २५ हजार पुरस्कार रहेको राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार यस वर्ष काठमाडौ क्षेत्रपाटीका राजेन्द्र सुवाल, कैलालीको भजनीका हिरुलाल डगौरा, सिन्धुपाल्चोकको बाह्रबिसेका कुमार पौडेल र बाँकेको कोहलपुरका यामबहादुर रावतलाई दिन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपालमा पाइने २३ प्रजातीका लाटोकोसेरोमध्ये आठ प्रजातिका दुलर्भ किसिमका छन् । यो उत्सवले लाटोकोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्खा पुर्जा पुनले बताए ।

नेपालबाट बर्सेनि लोटोकोसेरो तथा हुचिल जातको पन्छी चोरी शिकारी हुँदै गए पनि संरक्षणको अभावमा लोप हुँदै गएको छ । बर्सेनि करोडौँ मूल्यको लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्करी हुँदै आए पनि संरक्षणमा कुनै निकायको ध्यान जान नसक्दा लोप हुँदै गएको बताइन्छ ।

कृषकले मेहनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटोकोसेरोको मुख्य आहारा हो । यसले राति मात्र आँखा देख्छ र रातमा मात्र मुसाको सिकार गर्छ । यो पन्छीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पन्छीको जस्तै हुन्छ ।

यसको सङ्ख्या बर्सेनि घट्ने क्रममा रहेकाले संरक्षणमा जुटेको संस्थाले जनाएको छ । उत्सवमा पर्वत, बागलुङ र म्याग्दीलगायत चराविद् र सरोकारवाला संस्थाका गरी तीन हजारभन्दा बढीको उपस्थिति हुने अपेक्षा गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ