arrow

दुर्गा प्रसाई भन्छन् : फागुन १ गते जीवन कि मृत्यु

logo
नारायण वली,
प्रकाशित २०८० माघ ९ मंगलबार
Durga Prasai-2.jpg

लुम्बिनी । राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष मेडिकल व्यवसायी दुर्गा प्रसाईले आगामी फागुन १ गते आफूहरुको जीवन कि मृत्यु भनेर उद्घोष गरेका छन् ।

लुम्बिनी अञ्चल समितिले मंगलबार बुटवलको ट्राफिक चोकमा आयोजना गरेको लुम्बिनी अञ्चल बृहत आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ५४ मिनेट बोलेका प्रसाईले खाडी मुलुकमा गएर गरिब जनताले पठाएको पैसा सहकारी, वित्तीय संस्थाबाट तस्करहरुले लुटिरहेको अन्यायलाई अब टुलुटुलु हरेर बस्न नसकिने भन्दै राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ आजको आवश्यकता रहेको औँल्याए । 

आफू एक क्यान्सर पीडित भएको बताउँदै संसद भवन अगाडि इलामका प्रेमले गरेको आत्मदाह, झापाको कचलमा तीन जना महिला दिदीबहिनीहरुले सहकारीको ऋणले गर्दा एउटै रुखमा झुण्डिएको घटनाले अब नेपालीहरुलाई मुक्ति दिलाउनु पर्छ भनेर आफू घरपरिवार छाडेर युद्धमा होमिएको बताउँदै १६ जना तस्कर मारवाडीहरुले देशमा सुन, हिरा, पैसा, सुपारी र रक्तचन्दन लगायतको तस्करी गर्दै आएको उल्लेख गरे । 

सहकारी, वित्तीय र बैंकहरुले जनतालाई ऋण लिएको दिनदेखि २८ दिनको महिना, १३ महिनाको एक बर्ष बनाएर जनतासँग लुटिरहेको उनको दाबी छ । उनले भने, 'नेपाल र नेपालीमाथि राजनीतिक दलहरुले नै बिखण्डनकारी बनाए । राज्यलाई टुक्राटुक्रा बनाएर सात वटा प्रदेशमा विभाजन गराए । धर्म निरपेक्षता घोषण गरेर धर्ममाथि हमला गरियो । त्यही दिनदेखि नेपाल र नेपालीमाथि कुठाराघात भएको हो । त्यसका असरहरु आज हामीहरु भोग्दै आएका छौँ । बजारका उद्योगी, व्यवसायीका सटरहरु दैनिक बन्द हुँदै गएका छन् ।'

आफ्नो समयको आधा समय समस्याका बारेमा खर्चिएका प्रसाईले बाँकी एमालेमाथि आक्रामक रुपमा खनिए भने अन्तिममा माओवादी केन्द्रलाईसमेत छाडेनन् । 

रुपन्देहीको सैनामैनामा एमालेले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले सुकुम्वासीलाई लालपुर्जा बाँडे भनेर नक्कली लालपुर्जा बाँडेको भन्दै लालपुर्जाको प्रति कार्यक्रमको स्टेजबाटै सार्वजनिक गरे । उनले नेता पौडेललाई सोधे – जनतालाई नक्कली पुर्जा बाँडेर कतिञ्जेलसम्म राजनीति गर्ने हो ?

कार्यक्रममा उनले एमालेले सरकार सञ्चालन गर्दा जनकपुर रेल, सहकारी, वित्तीय लगायतमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । उनले भने, 'त्यही कुरा म सत्य बोल्दै हिँडेको सहन नसकेर एमालेको नेता महेश बस्नेत भन्ने खन्निएको हो । काठमाडौँको सभालाई तुहाउँछु भनेर युवा संघ लिएर आयो, केही गर्न सकेन । त्यस्ताले मलाई केही फरक पार्दैन ।'

उता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बारेमा आफूलाई एक भारतीय नेताले भनेको दाबी गर्दै भने, 'तिमीहरुका प्रधानमन्त्री प्रचण्ड जो आफूलाई सच्चा कम्युनिस्ट भन्छन्, भारत भ्रमणको क्रममा उनलाई निधारमा चन्दन टीका, रुद्राक्ष लगाएर पूजाअर्चना गरेको र नेपाल फर्किने बेला भैँसी लिएर पठाएको बताउँदै नेपाली बाबु तिमीहरुको प्रधानमन्त्रीको हैसियत नै त्यही थियो । किनभने उनी न कम्युनिस्ट होइनन् । त्यस्ता व्यक्ति प्रधानमन्त्री हुँदा नेपालको हालत के हुन्छ ?' 

प्रसाईले गत फागुनदेखि सञ्चालन भएको आफूहरुको महाअभियानको यात्राको एक वर्ष आगामी फागुन १ गते पुग्ने भएकाले सोही दिन काठमाडौँमा बृहत कार्यक्रमको आयोजना गरी बैंक, सहकारी र वित्तीय संस्थाहरुले गरेको सम्पूर्ण विवरण प्रतिवेदनसहित उजागर गर्ने र समाधानको बाटो पनि तय गर्ने तयारी रहेको जनाउँदै सोही दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि राजजगद्दीमा बस्ने सपना भए सिमरामा बसेर तस्करीहरुसँग भेटघाट गर्ने होइन, दुर्गा प्रसाईको महाअभियानमा सहभागी भए गद्दीमा बस्ने सपना आफूहरुले पूरा गरिदिने जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ