arrow

समुदायमा कांग्रेस

जनताका समस्या बुझ्न संवाद यात्रामा निस्कँदै गगन थापा

माघ १३ देखि २६ गतेसम्म चल्ने कांग्रेसको समुदायमा कांग्रेस अभियानको जोड – ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
gagan-thapa-sambad-yatra.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जनताका समस्या बुझ्न संवाद यात्रामा निस्कँदै छन् । उनले समुदायमा कांग्रेस अभियान अन्तर्गत झापाबाट संवाद यात्रा थाल्ने भएका हुन् । 

थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार झापाको भद्रपुर मेची पुलबाट गगनले उक्त अभियान थाल्ने भएका हुन् । आगामी माघ १३ देखि २६ गतेसम्म उनले निरन्तर स्थानीयका पिरमर्का बुझ्ने, समस्या सुन्ने र कांग्रेसप्रति स्थानीयको धारणा जानकारी लिने पौडेलले बताए । 

उनका अनुसार केन्द्रीय नेताहरु स्थानीय तहमा पुगेर धारणा लिने अभियान अन्तर्गतको कार्यक्रम हो । जसमा ‘स्थानीयका धेरै कुरा सुन्ने, आफूले कम बोल्ने’ नीति नेता थापाले अवलम्बन गर्नेछन् । 

नेताहरु चर्काचर्का भाषण गर्ने तर जनताका बेथा के कस्ता छन् त भन्ने केही जानकारी लिन नखोज्ने भएकाले गर्दा पनि समुदायमा कांग्रेस अन्तर्गत थापाले संवाद यात्रा थाल्ने भएका हुन् । 

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ ।

गगनको यो यात्राका क्रममा यसअघि हुने जस्तो औपचारिक कार्यक्रमसहितको भाषण भने हुने छैन । वडा वडा तहमै भेला भएको सानो समूहमै रहेर स्थानीयका भित्री पाटो र कांग्रेसको अवस्था गहन रुपमा बुझ्ने अवसर गगनलाई हुनेछ । 

यसले स्थानीयका पीरमर्का र चाहना बुझ्दा भोलिका दिनमा योजना बनाउन सजिलो हुनेछ भने कांग्रेसबारेको अवधारणा बुझ्दा कांग्रेस कहाँनेर अब्बल र सुधार गर्नुपर्ने विषय के छ त भन्नेबारेसमेत बुझ्न सहज हुनेछ । 

गगनले पटक पटक स्थानीयसँग संवाद गर्नुपर्ने जोड पार्टीमा उठाउँदै आएका छन् । सोही अनुसार अन्य नेताहरु पनि गाउँ गाउँमा पुगेर समुदायसँग कांग्रेस हुनुपर्ने आवाज उठिरहेको छ । उनले स्थानीय नेताहरुसँगको पहलमा एउटा जिल्लामा दुई तीन ओटादेखि छ–सात ओटासम्म कार्यक्रममा सहभागीता जनाउने छन् । 

गगनले संवाद यात्राबारे भनेका छन्, ‘अब तपाईसँग मेरो भेट तपाईकै गाउँमा, तपाईकै ठाउँमा ! समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नं ५ मेचीपुल भन्सारबाट तपाईसँगको संवाद यात्रामा हुनेछु ।’

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने अन्य नेताहरुको संवाद यात्रा अझै तय नभएको बताएका छन् । 

यद्यपि यो अभियानको तालिकाअनुसार माघ १३ र १४ गतेसम्म सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगी जिल्ला कार्यसमितिको विस्तारित बैठक बसी अभियानको उद्धेश्य र प्रारुप बारेमा जानकारी दिने र प्रत्येक वडाका लागि प्रतिनिधि खटाउने, अभिमुखीकरण दिने, कार्यक्रम र कार्यतालिका तय गर्नुपर्नेछ । 

माघ १५ गते सम्बन्धित वडामा पुगी वडा कार्यसमितिको बैठकमा राख्नुपर्नेछ भने १६ गते शहीद दिवसको दिन ६७४३ वटै वडामा ‘समुदायमा कांग्रेस अभियानको प्रारम्भ हुनेछ । 

जसरी जाजरकोट भूकम्पमा केन्द्रीय तहका नेताहरु खटिएर स्थानीयको पीडामा काँधमा काँध मिलाएर अस्थायी बसोबासका लागि टहराहरु बनाए त्यसरी नै कांग्रेसले अब जनताका दुःख सुखमा सँगसँगै हिँड्नु पर्नेमा जोड दिइएको छ । 

सोही अनुसार नै समुदायमा कांग्रेस अभियान अगाडि आएको हो । यो अभियानले ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ भनेको छ । माघ १३ देखि २६ गतेसम्म पहिलो चरण तोकिएको छ । 

दोस्रो चरणको अभियान भने पार्टीको आगामी फागुन ७ देखि १० गतेसम्म बस्ने तय भएको महासमितिको बैठक (नीति महाधिवेशन) पछि हुने जनाइएको छ । 

यस्तो छ कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानको पहिलो चरणको तालिका–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ