arrow

हतियारको विकासमा तीव्रता दिँदै किम, तीन देशसँग तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
kim-jong.jpg

काठमाडौँ । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्ड नजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार बताएको छ । 

उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणहरूको सिलसिला बढेको छ र यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ । 

प्रक्षेपणहरू गत साता उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र परीक्षणहरूको अर्को चरण र जनवरी १४ मा मुलुकको पहिलो ठोस–इन्धन मध्यमदूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि गरिएको हो ।

 यी परीक्षणहरूले उत्तर कोरियाका नेता किम जोङ उनको दक्षिण कोरिया र जापानमा क्षेप्यास्त्र प्रतिरक्षा तथा गुआमसहित प्रशान्त क्षेत्रमा टाढाको अमेरिकी लक्ष्यहरूलाई प्रभावित गर्नका लागि डिजाइन गरिएको हतियारहरूको विस्तार गर्ने प्रयासलाई प्रतिविम्बित गर्दछन् । 

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापो नजिक पानीमाथि क्षेप्यास्त्रहरू पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र–प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजहरूको निर्माण गर्ने प्रमुख शिपयार्ड छ । 

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रहरूको सङ्ख्या, कति टाढा उडेका थिए र जमीन वा नौसैनिक सम्पत्तिहरूबाट प्रक्षेपण गरिएको थियो वा थिएन भन्नेबारे दक्षिण कोरियाको सेनाले तत्काल विशिष्ट प्रक्षेपणको विवरण दिएको छैन । 

किमले आफ्ना हतियारहरूको विकासमा तीव्रता दिइरहेको र उनले एसियाली सहयोगीहरूसँग आणविक द्वन्द्वको उत्तेजक धम्कीहरू जारी गरिरहेकाले हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । 

यसको जवाफमा अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यासको विस्तार गर्दै आएका छन् । यसलाई किमले आक्रमणको पूर्वाभ्यासका रूपमा चित्रण गरेका छन् र आणविकसक्षम अमेरिकी सम्पत्तिहरू वरपर निर्मित प्रतिरोध रणनीतिहरूलाई तीव्रता दिइरहेका छन् । 

गत साता आफ्नो प्रक्षेपणमा पुलह्वासल–३–३१ नामक नयाँ क्रुज मिसाइल समावेश गरेको र आफ्नो सेनाको विकास गर्ने नियमित हिस्सा भएको उत्तर कोरियाले बताएको छ । उसले उक्त क्षेप्यास्त्रलाई ‘रणनीतिक’ भने । यसले आणविक हतियारहरूले सशस्त्र बनाउने सम्भावित उद्देश्यलाई सङ्केत गर्दछ । 

उत्तर कोरियाको क्रुज क्षेप्यास्त्रहरू मुलुकको ब्यालेस्टिक क्षेप्यास्त्रहरूको विशाल लाइनअपको पूरक हो जसमा अमेरिकी मुख्य भूमिसम्म पुग्नका लागि डिजाइन गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पनि समावेश छन् । 

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र गतिविधिहरूमाथि प्रत्यक्षरूपमा प्रतिबन्ध नभए पनि विशेषज्ञहरूले यी हतियारले सम्भावितरूपमा दक्षिण कोरिया र जापानका लागि गम्भीर खतरा उत्पन्न गर्नसक्ने बताएका छन् । 

तिनीहरूलाई साना हवाईजहाज जस्तै उड्ने गरी डिजाइन गरिएको छ र राडारहरूले पत्ता लगाउन कठिन हुनसक्ने परिदृश्यमा यिनीहरू उड्छन् । 

उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्रहरू कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ । 

उत्तर कोरियाले आफ्ना हतियार आणविकसक्षम रहेको र तिनीहरूको दायरा दुई हजार किलोमिटरसम्म रहेको दाबी गरेको छ । दुई हजार किलोमिटरको दूरी भनेको जापानमा अमेरिकी सैन्य अड्डासम्मको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ