arrow

शहीदका बलिदानको ऋण तिर्न सकिँदैन : उपराष्ट्रपति यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
ramsahaya-yadav-vice-president.jpg

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् । 

शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले त्यसो गर्न सके मात्रै शहीदहरुले दिनुभएको बलिदानका कदर हुने बताए । 

अमर शहीदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख गर्दै उपराष्ट्रपति यादवले वीर शहीदहरुको सपना र आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सबैले दृढ सङ्कल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिए । 

उपराष्ट्रपति यादवले महान् शहीदको बलिदानबाट प्राप्त उपलब्धिहरुको माध्यमबाट मुलुकको दिगो शान्ति, सुशासन, विकास, सबलीकरण, समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्ने बताए । 

उनले नेपालजस्तो विविधतामा एकताको धनी र संस्कृति सम्पन्न मुलुकमा समय–समयमा कुनै न कुनै महापुरुषले जन्म लिई देशको सुरक्षा, लोकतन्त्र, समावेशिता र पहिचानका लागि आफ्नो ज्यानको आहुति दिएको स्मरण गरे ।

उपराष्ट्रपति यादवले कुनै कारणबाट देशका महान् मार्गदर्शक, वीर सपुत र वीरङ्गनाहरु टाढिए पनि स्वाधीनता, अखण्डता, सार्वभौमिकता, सुरक्षाको महान् दायित्व सबै देशभक्तलाई सुम्पिएर गएको बताए । 

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, नागरिक स्वतन्त्रता, जनताको सार्वभौम अधिकार, समावेशिता, समानता, सबैखाले विभेदको अन्त्य, लोकतन्त्रको स्थापना र पहिचानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात महान् शहीदलाई स्मरण गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ