arrow

विकासलाई जनताको जीवनसँग जोड्नु ठूलो चुनौती : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
surendra-panday-cm-gandaki-rss.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने बताएका छन् ।

प्रदेशको नीति तथा योजना आयोगले आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर योजना बनाइने बताए ।

“पहुँचको आधारमा भन्दा पनि जनताका प्रमुख आवश्यकता के हुन भनी छलफल गरी तीनै योजनालाई अगाडि सार्नुको विकल्प छैन”, पाण्डेले भने, “वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती भनेको विकासलाई जनताको जीवनसँग जोड्नु हो ।” 

तीव्र रुपमा भइरहेको बसाइँसराइलाई रोकेर गाउँमा रोजगारीका अवसर सृजना हुने किसिमका योजना ल्याएर युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा उनले जोड दिए । 

विकास निर्माणका योजना बनाउँदा सोको लाभान्वित सङ्ख्या र लागतलाई ख्याल गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

“प्राकृतिक स्रोतसाधन प्रयोगमा आज पनि समस्या छ । हाम्रा योजना कृषि र उत्पादनमा जोड्न सक्यौँ भने मात्र ठूलो मात्रामा भइरहेको बसाइँसराइ रोक्न सकिन्छ । प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको छ । प्रदेशका समस्या, सङ्घबाट प्राप्त गर्ने अधिकारबाट सङ्घीयतलाई अझै बलियो बनाउन पहल गर्नेछु”, उनले भने, “गण्डकी प्रदेशमा कृषि, पर्यटन, उद्योग र स्वरोजगारका कार्यक्रमलाई प्राथामितामा राख्नेछौँ ।”

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले यो प्रदेश पर्यटकीय र कृषि क्षेत्र भएकाले यस क्षेत्रलाई केन्द्रित गरी पञ्चवर्षीय योजना ल्याउनुपर्नेमा जोड दिए । सदस्य भीम कार्कीले युवा लक्षित कार्यक्रम ल्याएर विदेश जानबाट युवालाई स्वदेशमा रोक्ने किसिमका योजना बनाउनुपर्नेमा जोड दिए । 

गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले दश जोर दुईको अध्ययनसँगै विद्यार्थीलाई सीपमूलक कार्यक्रम ल्याएर उनीहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै सोही अनुसारका कार्यक्रम ल्याउन जरुरी भएको बताए । 

अर्का सदस्य नन्दकला दमैले विपन्न वर्गको जीवनस्तर उकास्ने किसिमले प्रदेश सरकारले नीति तथा योजनाका कार्यक्रम ल्याउन जरुरी भएको बताइन् । 

गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले जनताका आवश्यकतालाई केन्द्रमा राखेर दिगो विकासका कार्यक्रम ल्याउन आवश्यक भएको बताइन् । 

नेपाली कांग्रेस कास्कीका नेता सूर्य भण्डारीले प्रदेश सरकारले पञ्चवर्षीय नीति तथा कार्यक्रम ल्याउँदा दीर्घकालीन रुपमा प्रयोगमा आउने किसिमबाट ल्याउनुपर्नेमा जोड दिए । 

नेकपा एमाले कास्कीका नेता भेषराज बरालले महोत्वाकांक्षी योजनाभन्दा पनि कार्यान्वयन गर्नसक्ने योजना ल्याएर नेपाली जनतालाई विकासको महसुस गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । 

नेकपा माओवादी केन्द्रका नेता विनय थापाले जनतालाई सुशासन कसरी दिन सकिन्छ भन्ने बारेमा सोचेर योजना अगाडि बढाउनुपर्ने बताए । 

नेकपा (एकीकृत) समाजवादी कास्कीका नेता खड्ग हमालले गण्डकी क्षेत्र पर्यटन र कृषिको हब भएकाले पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धन हुने किसिमका योजना बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले मादी गाउँपालिका पर्यटकीय क्षेत्र भएकाले यहाँको पर्यटन विकासमा प्रदेश सरकारको ध्यान जान जरुरी रहेको उल्लेख गरे । 

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिका कृषि उत्पादनमा उर्भर भूमि भएकाले कृषि क्षेत्रको विकासमा प्रदेश सरकार लाग्नुपर्ने सुझाव दिए । 

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण पर्यटकीय र प्रशस्तै पैदलमार्ग भएको ठाउँ भएकाले यहाँका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय विकास गर्न सुझाव दिए । 

माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले पर्यटन, पशुपालन र जडिबुटीको प्रशस्त सम्भावना भएको क्षेत्र भएकाले यसलाई आधार मानी विकास निर्माणका कार्य अगाडि बढाउनुपर्ने बताइन् । 

पोखरा उद्योग वाणिज्य सङ्घका उपमहासचिव शोभा गौतमले उद्योगलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण सृजना गर्नुपर्ने, कम सहलियत व्यजदरमा ऋण उपलब्ध गराउनुको साथै विद्युत् महसुल न्यून लगाउनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा गैरसरकारी महासङ्घ, अपाङ्ग महासङ्घ, नेपाल रेडक्रस, सञ्चारकर्मीलगायतले आफ्ना सुझाव प्रस्तुत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ