arrow

महासमिति बैठकबाटै नेतृत्व लिन कार्यकर्ताको गगनलाई सुझाव

logo
सन्जय भट्टराई
प्रकाशित २०८० माघ २२ सोमबार
Screenshot_20240204_234259_WhatsApp.jpg

कावासोती । देशव्यापी संवाद यात्रामा निस्किएका काँग्रेस महामन्त्री गगन थापा आइतबार दिउसो २ बजे पछि नवलपुरको गैँडाकोट-५ आइपुग्दा कार्यकर्ता र स्थानीय उनको व्यग्र प्रतीक्षामा भएको भान हुन्थ्यो ।

संवाद यात्राको क्रममा महामन्त्री थापा नवलपुरको गैँडाकोट आइपुगेका थिए । स्वागत गर्न नेता–कार्यकर्ताको ठुलो पङ्क्ति सडकमै लामबद्ध देखिन्थ्यो । स्वागत र सम्मान थाप्दै गैँडाकोट ५ मा कांग्रेस नवलपुरले आयोजना गरेको कार्यक्रमको मञ्चमा आइपुगेका थापालाई आसनग्रहण लगत्तै स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणले प्रश्न वर्षाउन सुरु गरे ।

कांग्रेस जिल्ला सभापति महेन्द्र ध्वज जिसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि रहेका थापा स्थानीय कार्यकर्ताले माइक समातेर आफ्ना प्रश्न राख्न सुरु गरे पछि कुनै बेला गम्भीर त कुनै बेला उत्साहित देखिन्थे  ।

ह्विल चियरमा आएका अपाङ्ग सङ्घका गैँडाकोट नगर अध्यक्ष रहेका कृष्ण सुवेदीले कांग्रेसले महाधिवेशन सकिएको ३ वर्ष हुँदा सम्म कोषाध्यक्ष किन मनोनीत गर्न नसकेको भन्दै महामन्त्री थापालाई प्रश्न गरे लगत्तै थापाको अनुहारको भावभङ्गी हेर्दा उनलाई त्यो प्रश्नले बेस्सरी घोचेको भान हुन्थ्यो । त्यसै माथि सुवेदीले पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको उदाहरण सहित थप प्रश्न गर्दै भने “म अपाङ्ग कि कृष्ण चन्द्र नेपाली? ” साङ्केतिक रूपमा पूर्व मुख्यमन्त्री नेपालीको उदाहरण दिएका सुवेदीको प्रश्नमा राज्य संयन्त्रले पहुँचको आधारमा अपाङ्गता भएकालाई अवसर दिने प्रवृत्ति प्रति चर्को असहमति थियो ।

कार्यक्रमको सुरुमा बोल्दै कांग्रेसका महासमिति सदस्य समेत रहेका गोकुल सापकोटाले आगामी महासमितिको बैठकबाट नेतृत्व परिवर्तन गरेर पार्टी नेतृत्वमा महामन्त्री थापा आउनु पर्ने कुरामा जोड दिए । उनले भने “अहिलेको नेतृत्वलाई जनताले पत्याएनन्, आगामी महासमिति बैठक बाट महामन्त्रीले पार्टीको नेतृत्व गर्ने गरि अगाडी बढ्नु पर्‍यो स्थानीय कार्यकर्ताको यही माग छ ।” वर्तमान नेतृत्वकै कारण क्रियाशील सदस्यले नवीकरण गर्न हिचकिचाहट गरेको भन्दै सापकोटाले क्रियाशील सदस्यलाई जोगाउन नयाँ नीति बनाउन थापालाई आग्रह गरेका सापकोटाले भृकुटी कागज कारखानाबाट उत्तर दक्षिण गएको बाटो कारखानाको चार किल्ला भित्र परेर अतिक्रमित भएकाले तत्काल उक्त बाटो खुलाउनका सदनमा कुरा उठाउनु पर्ने भन्दै थापाको ध्यानाकर्षण गराए ।

पार्टीको सबै तहको नेतृत्व क्रियाशील सदस्यले चयन गर्ने तथा जनप्रतिनिधिको उम्मेदवार चयन समेत क्रियाशील सदस्यले गर्न पाउनु पर्ने विधानतः व्यवस्था माग गर्दै गोविन्द घिमिरेले ध्यानाकर्षण गराउँदा महामन्त्री थापा गम्भीर भएका थिए ।

गैँडाकोटकै वेदप्रसाद गौडेलले मुल नै धमिलो भएकाले कांग्रेसमा समस्या आएको भन्दै मुल अर्थात् नेतृत्व नै सफा गर्नु पर्ने बताए । गुमेको कांग्रेसको साख फर्काउन पहिला नेतृत्व परिवर्तन गर्नु पर्ने बताउँदै गौडेलले नेतृत्व परिवर्तन विना कांग्रेसलाई अगाडी बढ्न गाह्रो भएकाले मुल अर्थात् नेतृत्व सफा गर्ने तर्फ अगाडी बढ्न महामन्त्री थापाको ध्यानाकर्षण गराए ।

करिब दर्जन बढी स्थानीय कार्यकर्ताले थापालाई पार्टी नेतृत्व आउन हस्तक्षेपकारी भूमिका खेलेर अगाडी बढ्न सुझाएका थिए । झापा देखि सुरु भएको महामन्त्री थापाको संवाद यात्रामा देखिएको जनसहभागिताले अब थापा कांग्रेसको मुल नेतृत्वमा आउनु पर्ने देखाएको स्थानीयको धारणा थियो ।

सहभागीले युवा पलाएन रोक्न ठोस नीति तथा कार्यक्रम ल्याउनु पर्ने, विकास निर्माणमा देखिएका ढिला सुस्ती अन्त्य गर्न, निकुञ्जले निम्त्याएको समस्या समाधान गर्न, पार्टीभित्रको गुटबन्दी अन्त्य गराउन र कांग्रेसलाई तलैबाट चलायमान गराई एक्लै निर्वाचनमा लड्न सक्ने हैसियतमा फर्काउन भन्दै थापाको ध्यानाकर्षण गराएका थिए ।

आएका जिज्ञासा र प्रश्नको उत्तर दिँदै थापाले सबै जिज्ञासा समाधान गर्ने गरी सरकार र पार्टीसमक्ष पुर्‍याउने आश्वासन दिए । चुनाव अगाडीको गठबन्धनका कारण पार्टीमा ठुलो समस्या आएको बताएका थापाले भने “गठबन्धन गलत भयो, गठबन्धन नगर्नुस् नभनेको एउटा पनि कार्यक्रम छैन, झापामा होस या गैँडाकोटमा आम पार्टीका साथीको धारणा यो छ भनेर अब पार्टीको दस्ताबेजमा लेख्न सकिने गरेर म काठमाडौँ फर्कन्छु ।”

तल्लो तहबाट आएका कुराले आगामी महासमिति बैठकका लागि दस्ताबेज लेख्न आधार दिएको बताउँदै महामन्त्री थापाले झापा देखि कञ्चनपुर सम्मको यात्रा बाट आएको सुझावलाई आत्मसात् गरेर अगाडि बढ्ने बताएका हुन । कार्यक्रम कांग्रेस सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार सहितका केन्द्रीय नेताको उपस्थित रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ