arrow

कर्तव्य ज्यान मुद्धामा फरार क्रान्तिकारीकी पञ्चालाई गृहमन्त्रीको संरक्षण, पक्राउ गर्न प्रहरीको निरीहता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
pancha-singh-2080.jpg

काठमाडौँ । व्यापारिक घराना चौधरी ग्रुपका सदस्य अरुण चौधरीलाई पक्राउ गर्न तयार भएको प्रहरी सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनकी अध्यक्ष पञ्चा सिंहलाई भने संरक्षण गरेर राखेको छ । 

माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहलाई कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी परे पनि उनलाई पक्राउ नगरी संरक्षण दिइरहेको छ । 

माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा फरार छिन् । उनीविरुद्ध जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जीसमेत जारी भएको छ ।

जुन घटनामा पञ्चालाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । पञ्चालाई  गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संरक्षण रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार फरार रहेको अवस्थामा उनी गृहमन्त्रीको सरकारी निवास पुल्चोक र बारम्बार प्रधानमन्त्री निवास पुगेकी छिन् । 

उनलाई प्रहरी कर्मचारीले बाहिर भित्र गराइरहेका भए पनि पक्राउ नगरी चुपचाप बसिरहेका छन् । 

२०६५ सालमा सुर्खेतमा एमालेका विद्यार्थी नेता राजबहादुर मल्लको हत्या मुद्दामा उनीविरुद्ध किटानी जाहेरी परेकोमा उनी फरार छिन् । व्यापक दबाब हुँदा पनि प्रहरीले पक्राउको अनुमति पाएको छैन ।

छोराको हत्यापछि राजबहादुरका बुबा नन्दबहादुर मल्लले किटानी जाहेरी दिए । घटना भएको १५ वर्ष हुँदा पनि अहिलेसम्म अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन् । 

यो अवधिमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३१ वटा अनुसन्धान टोली गठन गरेको थियो । 

प्रहरीका अनुसार हत्या घटनामा माओवादी निकटको अखिल क्रान्तिकारीका हालका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका माओवादीका नेता–कार्यकर्ताको संलग्नता छ ।

२०७९ साउन १३ गते मृतकका बुबाले प्रहरीमा दिएको जाहेरी अनुसार क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरूले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर भर्ना भएको भन्दै राजबहादुरले आवाज उठाएका थिए । त्यसपछि उनीहरूको भर्ना रद्द भएको थियो ।

प्रहरीका अनुसार २०६५ फागुन २६ गते राति ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेका राजबहादुरमाथि आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको बुद्धपथको देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । 

प्रहरीका अनुसार कालिकोटको महावै गाउँपालिकाका प्रतिमा भन्ने पञ्चा सिंह, टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीको संलग्नता रहेको छ । 

तर उनी अहिले पनि गृहमन्त्रीले संरक्षण दिएकाले पक्राउ गर्न नसकेको निरीहता प्रहरीले व्यक्त गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ