arrow

लिटरेचर फेस्टिभलले पोखरालाई अलग पहिचान दिलायो : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
surendra-panday-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिटरेचर फेस्टिभलले पर्यटकीय राजधानी घोषणाको तयारीमा रहेको पोखरालाई अलग पहिचान दिलाएको बताएका छन् । उनले साहित्य महोत्सवले पोखरालाई समुन्नत सहरका रुपमा स्थापित गर्न पनि मद्दत पुग्ने स्पष्ट पनि पारे ।

पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सुरुसांस्कृतिक विविधतासहितको सामाजिक ऐक्यबद्धता महत्वपूर्ण पक्ष भएको बताए ।

राजनीति र साहित्यको अन्तिम ध्येय समाजको परिवर्तन भएको उनको भनाइ छ । मुलुकको राजनीतिक परिवर्तनमा कला, साहित्यको महत्वपूर्ण भूमिका रहने जिकिर गर्दै मुख्यमन्त्रीले अभिव्यक्तिको सशक्त माध्यम साहित्य भएको बताए ।

कला, साहित्य, सङ्गीत, शिक्षा, राजनीति, अर्थशास्त्रलगायत समाजका विविध विषयमा हुने बहस र तिनमा सहभागी हुने देशविदेशका वक्ताका कारण साहित्य महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उनले बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ ले पोखरा कला, साहित्यको उर्वर भूमि भएको बताए । उनले साहित्य महोत्सवको माध्यमबाट यस क्षेत्रको चिनारी फैलिएको उनले स्पष्ट पारे । कला-साहित्यको उत्थान र प्रवर्द्धनका लागि राज्यले लगानी बढाउनुपर्नेमा उनको जोड थियो ।

फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले थुप्रै मेहनतले महोत्सवलाई ११औं संस्करणसम्म ल्याउन सकेको बताए । ‘हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभावहरु छन् । ती सबैलाई मल्हम साहित्य महोत्सवले गर्छ भन्ने विश्वासले नै हाम्रो अभियान हो’, उनले भने ।

फेस्टिभलकै अवसरमा कार्टुनिस्टका बादशाह परिचय बनाएका कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को पुस्तक ‘वात्स्यायन एन्ड हिज बाब्र्स’ विमोचन भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले उक्त कार्टुन संग्रह विमोचन गर्दै वात्स्यायनलाई पोखराका अग्ला शिखरकारुपमा चिनाए ।

मेयर आचार्यले पोखरामा साहित्य महोत्सव हुँदै गर्दा आफूले सहपाठीसमेत रहेका स्वर्गीय रवीन्द्र अधिकारीको पनि स्मरण गरे । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पूर्वपर्यटनमन्त्री अधिकारीले पोखरामा लिटरेचर फेस्टिभल ल्याउन महत्वपूर्ण भूमिका निभाएको सम्झिए । ‘यो अहिले पोखरा चिनाउने गौरवको फेस्टिभल भइसकेको छ । यसलाई निरन्तरता दिन पोखरा महानगरले के सहयोग गर्नुपर्ने हो हामी तयार छौं,’ उनले भने ।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गरेका थिए । उनले दुर्गा बराल पोखराकै लागि एक आदर्श पुरुष भएको सुनाए । ‘पोखरालाई कार्टुनमा मात्रै होइन, पानी रङको सहरका रुपमा चिनाउन पनि महत्वपूर्ण भूमिका निभाउनुभएको छ’, उनले भने ।

सोही अवसरमा चित्रकार सुजना श्रीषको चित्रकला प्रदर्शनी पनि सुरु गरिएको छ । उक्त प्रर्दशनी पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन् । फागुन ७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन सत्रमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिएका थिए ।

फेस्टिभलको पहिलो दिनको अन्तिम सत्र संकवितामा कवि कुमार नगरकोटीले कुटुम्ब ब्यान्डका साथ कविता वाचन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ