arrow

कहाँ अल्झियो मोतिपुर औद्योगिक आयोजना ?

अन्ठाउन्न वर्षदेखि बसोबास गर्दै आएका तीन हजार ६२ परिवार असन्तुष्ट

logo
नारायण वली,
प्रकाशित २०८० फागुन ७ सोमबार
motipur_indus 4.jpg

लुम्बिनी । रुपन्देहीको विकेन्द्रीकृत उद्योगहरुलाई केन्द्रीकृत गर्ने उद्देश्यले २०७२ साल चैत १ गते घोषणा गरिएको बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्र आयोजनाले हालसम्म पूर्णता पाउन सकेको छैन । जसका कारण उक्त आयोजना अलपत्र जस्तै बनेको छ । निर्माणका लागि ०७५ कात्तिकमा कार्यालय खोलिए पनि निर्माणकार्यले अझै गति लिन सकेको छैन ।

साविक बुटवल नगरपालिका, टिकुलीगढ, अनन्दवन, फार्साटिकर (हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका) अन्तर्गतका क्षेत्रलाई मोतिपुर औद्योगिक क्षेत्रको रुपमा घोषणागरी काम अघि बढाएको थियो । औद्योगिक क्षेत्र बनाउने प्रस्तावित क्षेत्रमा २०२२ सालदेखि बसोबास गर्दै आएका स्थानीयबासीहरुले आफूहरुको लालपुर्जा जग्गालाई सरकारी स्तरबाट रातारात औद्योगिक लिमिटेडको नाममा पास गरेर बैकल्पिकता समेत नदिई उठिबास लगाउन खोजेकाले कडा विरोधमा उत्रिएपछि मोतिपुर औद्योगिक क्षेत्रको निर्माणकार्य अनिश्चित जस्तै बन्न पुगेको छ । 

लिमिटेडले स्थानीहरुको लालपुर्जा र प्रतिऐलानी गरी ८ सय १३ बिगाह आफ्नो स्वामित्वमा लिइसकेको छ । आफूहरुलाई कुनै जानकारी नदिएर पुर्जावाल जग्गा छापामार शैलीमा कम्पनीले आफ्नो नाममा बनाएको भन्दै स्थानीयहरु आक्रोशित हुँदै आएका छन् ।

वर्षाैँदेखि बसोबास गर्दै आएको घरबास उठिबास लाग्ने कुराले चिँढिएका स्थानीयहरुको विरोधका कारणले औद्योगिक क्षेत्र निर्माण गति पाउन नसकेको मोतिपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीय तथा संघर्ष समितिका एक सदस्य बाबुराम घिमिरेले बताए ।

हामीहरुले धेरै पटक आफ्न मागहरु राख्यौं, सुनुवाई कतैबाट पनि भएन । स्थानीयमाथि गरिएको अन्यायलाई न्याय दिएर औद्योगिक क्षेत्रको निर्माणकार्यलाई विस्तार गर्न ध्यान दिइएन, उनले दुःखेसो पोखे । 

यता उक्त विवाद मिलाएर सो क्षेत्रलाई अघि बढाउने सम्बन्धमा बुटवलमा सरोकारवाला निकायहरुले पटकपटक छलफल गरेपनि सार्थकता पाउन नसकेको पाईएको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरुले तदारुकताका साथ ध्यान दिएर लाग्नुपर्ने र संघीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताए । 
   
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतिपुर औद्योगिक क्षेत्रको बारेमा छलफलको माध्यमबाट निकास खोज्ने काम भइरहेको जनाए । मोतिपुरमा ५८ वर्षदेखि बसोबास गर्दै आएका तीन हजार ६२ परिवारको २ सय ५० बिगाहा जग्गा पनि परेपछि स्थानीय २०७३ सालदेखि नै आन्दोलित छन् ।

यस्तो छ योजना 
तीन वटा पालिकाहरुको क्षेत्रफललाई समेट्ने गरी औद्योगिक क्षेत्र बनाउने योजना छ । तिनाउ नदी किनारको ८ सय १३ विगाह क्षेत्रफलमा बन्न लागेको औद्योगिक क्षेत्रलाई ३ सेक्टरमा विभाजन गरिएको छ । 

तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्साटिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर तीन प्लटको निर्माण गरिनेछ । पहिलो सेक्टर ‘ए’ मा  १ सय ५४ बिगाह लिएको छ । त्यसमध्ये ४४ बिगाहमा १ सय ३० औद्योगिक प्लट, २८ बिगाहमा सडक, ४० बिगाहमा ग्रीन बेल्ट र बफरजोन, त्यसैगरी २३ बिगाहमा तिनाउ नदी पर्नेछ भने स्थानीहरुले जोतभोग गरेको १७ बिगाह जग्गासमेत पर्नेछ । 

सेक्टर ‘बी’ मा कूल ४ सय ५ विगाह क्षेत्रफलमा हुनेछ, त्यसमध्ये १ सय १७ बिगाहमा २ सय ६२ औद्योगिक प्लट, १ सय ४३ बिगाहमा बस्ती व्यवस्थापन, ६१ विगाहमामा खेल मैदान, प्रशासिनक भवन, ढल व्यवस्थापन, ३४ बिगाहमा ग्रीनर र बफरजोन, ४८ बिगाहमा तिनाउ नदीको क्षेत्र पर्ने भएको छ ।

सेक्टर ‘सी’ मा १ सय ५२ प्लट संख्या रहनेछ । औद्योगिक क्षेत्र स्थापनाका लागि करिब ८ अर्ब खर्च अनुमान गरिएको छ ।

औद्योगिक क्षेत्रभित्र ४ लेनको मुख्य सडक, २ लेनको सहायक सडक, साइकल लेन र फुटपाथ निर्माण गरिने डीपीआरमा उल्लेख छ ।

स्थानीयको आरोप  
प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र घोषणा भएसँगै यहाँ स्थानीयको विरोध भइरहेको छ । सोहीअनुसार ८ सय १३ बिगाह क्षेत्रफलको लालपुर्जा औद्योगिक क्षेत्रका नाममा समेत आइसकेको छ ।

स्थानीयले ८ सय १३ विगाह जग्गा औद्योगिक क्षेत्रका नाममा ल्याउँदा नै जनतालाई झुक्याएको आरोप लगाएका छन् । जनताको भावनाविपरीत एक्कासी उक्त जग्गा औद्योगिक क्षेत्रका नाममा पास भएको उनीहरु बताउँछन् ।

चार जनाको मृत्युवरण 
रुपन्देहीको बुटवलस्थित मोतिपुरमा नदी उकास क्षेत्रमा निर्माण गर्ने भनिएको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाइ कब्जा गर्ने समूह र प्रहरीबीच गत असोज २४ गते झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चार जना सर्वसाधारणको मृत्युवरण हुन पुगेको थियो। १८ जना सर्वसाधारणसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । 

चार जनाको ज्यान जाने गरी भएको बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धि घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न स्थानीयलाई उक्साउने, समूह गठन गर्ने, बैठक भेला गरी जग्गा कब्जाको योजना बनाएको आरोपमा प्रहरीले कपिलवस्तुको शुद्धोधन गाँउपालिका वडा न ६ स्थायी ठेगाना भइ हाल बुटवलको देवीनगरमा डेरा गरी बस्ने ४४ वर्षे साविर अलि मुसलमानलाई पक्राउ गरी सार्वजनिक गरेको गरेको थियो । राजु आलम नामबाट परिचित अलीलाई प्रहरीले कात्तिक १ गते राती बुटवल ११ देविनगरस्थित डेराबाट नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ