arrow

धर्म र संस्कृतिले नेपाल र नेपालीलाई एकतामा बाँधेको छ : मन्त्री बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
mohan-basnet-10-10.jpg
तस्बिर-फाइल

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विभिन्न धर्म र संस्कृतिले नेपाल र नेपालीलाई अक्षुण्ण राख्दै एकताबद्ध बनाएको बताएका छन् ।

बाह्रबीसे नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको आयोजनामा आज बाह्रबीसे-३ खोर्सानीबारीमा आयोजित २८६०औँ डुक सोनाम ल्होछार कार्यक्रममा उनले भने, “हामीकहाँ विभिन्न जातिका आ-आफ्नै पर्व र संस्कृति छन् । हामीकहाँ फरक जातिको पर्व पनि उत्तिकै उत्साहका साथ मनाउने गरिएको छ । धर्म र संस्कृतिले हामीलाई एकापसमा जोडेको छ ।”

मन्त्री बस्नेतले आफू यसै जिल्लाबाट निर्वाचित भएकाले जिल्लाको विकासका लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।

“सिन्धुपाल्चोकका सबै वडा मेरा लागि बराबर छन् । सबै वडाको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक योजना समेट्न अधिकतम प्रयास गर्नेछु”, उनले भने ।

उनले आफू मन्त्री भएपछि निजी, सरकारी र सामुदायिक अस्पतालमा १० प्रतिशत साधारण शय्या गरिब तथा विपन्नका लागि निःशुल्क उपलब्ध गराएको समेत उल्लेख गरे ।

त्यस अवसरमा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले यस्ता कार्यक्रमले समाजमा सद्भाव र आत्मियता बढाउने धारणा राखे । उनले यस्ता कार्यक्रम हरेक वर्ष भव्य र सभ्य रुपमा मनाउँदै धर्म, संस्कृतिलाई बचाउन क्रियाशील रहनुपर्नेमा जोड दिए ।

उनले हाम्रो मौलिक सभ्यता र संस्कृतिलाई अनुशासित तरिकाले जोगाउँदै अघि बढाउन युवाहरुले भूमिका खेल्नुपर्ने बताए ।

नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले बाह्रबीसे नगरपालिकामा तामाङ र शेर्पा समुदायको बाहुल्यता भएको उल्लेख गर्दै तामाङ र शेर्पा समुदायको पनि राज्यको माथिल्लो निकायमा प्रतिनिधित्व हुनु जरुरी छ भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ