arrow

भारतसँगको सीमामा प्रशासनले राख्यो राष्ट्रिय झण्डा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
prasasan-sunsari-flag.jpg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो ।

कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रूपमा शुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ । 

नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकुन् भन्ने उद्देश्यसाथ सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । आचार्यले भारतसँग सीमा जोडिएको सुनसरी तर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपी सहितका सुरक्षा निकायका पोष्ट र खुला रूपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने बताए । 

प्रजीअ आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वास समेत व्यक्त गरे । सीमावासी सादा पोशाकका पहरेदार भएकाले सीमा सुरक्षा र संरक्षणका सवालमा समेत राष्ट्रिय झण्डा अभियान सार्थक हुने उनको विश्वास छ । 

प्रजिअ आचार्यले भने, ‘सीमा क्षेत्रको अवस्थासँगै स्थानीयको समस्या र गुनासो बुझ्न पैदल यात्रामा निस्किएका थियौँ । सो क्रममा भारतसँगको खुला नाका क्षेत्रमा नेपाली भूभाग कहाँसम्म पर्छ भनेर ठम्याउन जो कोहीले नसक्ने अवस्था देखियो । राष्ट्र र राष्ट्रियताको हितमा आवश्यकता समेत महसुस भयो । सोही बमोजिम राष्ट्रिय झण्डा फहराउने अभियानमा जुटेका हौँ ।’

नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाइएको जनाएको छ । नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ