arrow

हिमपातले रारा जाने नाग्म–गमगढी सडक अवरुद्ध, सवारी बीचमै अलपत्र 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० फागुन २० आइतबार
himpat-mugu-80-11-21.jpg

मुगु । लगातारको हिमपातले कर्णाली राजमार्ग अन्तरगत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ पन्छाइ सडक डिभिजन कार्यालय जुम्लाले सडक चालु गरेको थियो ।

पुनः शुक्रबारबाट लेखतिर हिउँ र बेसीतिर पानी पर्न थालेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट मुगु आएका सवारी गाडीहरु बाटोमै रोकिएका छन् ।

झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु जुम्ला सीमाना बुलबुलेमा बाख्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए । 

मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने र हिउँ अझै परिरहेकोले यो सडक भएर यात्रा गर्ने सबैलाई सकभर यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाएर यात्रा गर्न  सडक डिभिजन कार्यालय जुम्लाले आफ्नो फेसबुक एकाउन्टमार्फत आइतबार सूचना जारी गर्दै सचेत गराएको छ ।

सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतबाट  व्यापारिक तथा अन्य निर्माण सामाग्रीहरु बोकेर आएका मालवाहक गाडीहरु बुलबुले मै रोकिएका छन् ।

नाग्म–गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो आएर रुख ढलेर सधै अवरुद्ध हुने गर्दछ । 

नेपालकै ठूलो तथा गहिरो ताल रारा ताल र नेपाली भाषाको उद्गम स्थल सिन्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधै व्यस्त हुने गर्दछ । 

पर्यटकीय सडक भएकाले पर्यटकहरुले सडककै कारण दुःख तथा सास्ती भोग्न नपरोस् भनेर सडक डिभिजन जुम्लाले अवरोध हटाउन स्काभेटर र सडक रक्षकहरु तैनाथी अवस्थामा राख्दै आएको छ भने सडक स्तरउन्नतिको कामलाई पनि तीव्रता दिइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ