arrow

एमसीसी कार्यान्वयनमा भएको प्रगति बारे उपाध्यक्ष जोनाथनले लिए जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
mcc.jpg

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोगमा निर्माण हुने प्रसारण लाइनलगायत आयोजनालाई गति दिन सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएका छन् । 

मन्त्री बस्नेतले आइतबार साँझ आफ्नै कार्यकक्षमा एमसीसीको ‘कम्प्याक्ट अपरेसन’का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलाई उक्त जानकारी दिएका हुन् । आफूसँग भेट गर्न आएका उपाध्यक्षलाई उनले एमसीसीको सहयोगमा अगाडि बढाइएका प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रक्रियाका बारेमा भएका प्रगतिबारे जानकारी दिएका थिए। उनले प्रसारण लाइन निर्माण तथा सडक पूर्वाधार निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहयोग भइरहेको बताए ।

नायब उपाध्यक्ष ब्रुक्सले एमसीसीको सहयोगमा सञ्चालन हुने आयोजनाका समग्र पक्षबारे बताउँदै तिनको कार्यान्वयन गरिने जानकारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलगायत विषयमा छलफल गर्न नायब उपाध्यक्ष बु्रक्स नेपाल भ्रमणमा आएका हुन् । उनको भ्रमणले नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् । 

एमसीसीको सहयोगमा कूल तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । त्यसनिम्ति लप्सीफेदी-रातमाटे-हेटौँडासम्मको एक सय १७ किलोमिटर, रातमाटेदेखि दमौलीसम्मको ९० किलोमिटर र दमौलीदेखि बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । 

यस्तै, बुटवलदेखि नेपाल-भारत सीमासम्मको १८ किलोमिटर बराबरको प्रसारण लाइन पनि निर्माण गर्ने लक्ष्य राखिएको छ । यसअघिको बोलपत्र प्रक्रिया रद्द भएसँगै नयाँ बोलपत्रको प्रक्रिया सुरु गर्न लागिएको छ ।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते हस्ताक्षर भएको थियो । सो परियोजनाका लागि एमसीसीले ५० करोड अमेकिरी डलर अनुदान उपलब्ध गराउनेछ । आयोजनामा नेपाल सरकारले १९ दशमलव सात करोड अमेरिकी डलर लगानी गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ