arrow

अठतीस जिल्लाको नक्साङ्कन सकियो

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
काठमाडौँ। स्थानीय तह पुनःसंरचनाका लागि गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले जिल्लास्थित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले पठाएको पुनःसंरचनाको नक्साङ्कन गर्ने कार्य थालेको छ । आयोगको मापदण्डअनुसार प्राविधिक समितिले पठाएको पुनःसंरचनाको नक्साङ्कन गर्ने कार्य भइरहेको आयोगका सदस्य माधवप्रसाद अधिकारीले जानकारी गराए । 
 
अधिकारीका अनुसार अहिले आयोगमा प्राप्त भएका ५४ जिल्लाको नक्साङ्कनको काम भइरहेको छ । ‘‘समितिले पठाएको पुनःसंरचनालाई हामीले नक्सा हेरी अन्तिम नक्साङ्कन गर्ने कार्य गरिरहेका छौँ”, उनले भने – “त्यही पुनःसंरचनालाई हामीले नक्साङ्कन गरेर सरकारलाई बुझाउँछौँ ।” आयोगले समितिले पठाएको पुनःसंरचनालाई सफ्टवेयरमा राखेर नेपालको नक्साबमोजिम भौगोलिक र जनसङ्ख्या हेरेर नक्साङ्कन गर्ने गरेको छ । 
 
आयोगका भौगोलिक सूचनाविज्ञ भोलानाथ ढकालले अहिलेसम्म ३८ जिल्लाको नक्साङ्कन सकिएको जानकारी दिए ।  ढकालका अनुसार तीमध्ये १२ जिल्लाका समितिलाई आयोगले गरेको नक्साङ्कन प्रमाणित गर्नका लागि पठाइएको र २६ जिल्लाको पुनःसंरचनालाई पनि केही दिनमा पठाइने छ । 
 
आयोगले नक्साङ्कन पुनःसंरचना मिले-नमिलेको हेर्नसम्बन्धित जिल्लाका समितिलाई जिल्लामा पठाउने गर्दछ । समितिले तीन दिनभित्र सोको लिखित जवाफ पठाउनुपर्ने हुन्छ । आयोगले मङ्सिरको दोस्रोसातासम्म नक्साङ्कनसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको आयोगका सदस्य अधिकारीले जानकारी  दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ