arrow

हुक्का विकृति

हुक्काको घातक लतमा फस्दै युवा

प्रतिघण्टा हुक्का सेवन गर्दा एक सयदेखि दुई सय खिल्ली चुरोट सेवन गर्नु बराबर हुन्छ, हुक्कामा निकोटिन, भारी धातु, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा अत्यधिक हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्छ

logo
नारायण वली,
प्रकाशित २०८० फागुन २६ शनिबार
hukka2.jpg

लुम्बिनी । हिजोआज हुक्काको सेवन फेसन जस्तै बनेको छ । भेटघाटमा मनोरञ्जनको रुपमा लिने जमात ठूलो छ । पछिल्लो समय हुक्का युवायुवतीहरुमा अत्यन्तै लोकप्रिय बन्दै गएको पाइन्छ । रेष्टुरेन्ट तथा बारमा गएपछि हुक्का सेवन गर्दै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति पनि मौलाउँदै गएको देखिन्छ । यो कति हानिकारक छ, यसले शरीरमा पुर्याउने घातक असरबारे धेरैजना अनभिज्ञ छन् भने कतिपयहरु भ्रममा । 

यसको लत गम्भीर बन्दै गएको छ । हुक्काको सिसामा रहेको पानीले हानिकारक तत्वहरुलाई छान्ने काम गर्छ भन्ने कथन सत्य नभएको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का सेवनले युवा पुस्ताहरुको आकर्षण गरे पनि बालबालिकाहरुको स्मरण शक्तिमा प्रत्यक्ष असर पुर्याउँछ । 

डाक्टरका अनुसार प्रतिघण्टा हुक्का सेवन गर्दा एक सयदेखि दुई सय खिल्ली चुरोट सेवन गर्नु बराबर हुन्छ। हुक्कामा निकोटिन, भारी धातु, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा अत्यधिक हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्छ ।

वरिष्ठ मुटु तथा छाती रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले भने, 'अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुको साथै मुटु सम्बन्धी रोग, पाठेघरको क्यान्सर, फोक्सो सम्बन्धी रोग, मुत्रथैली, स्तन, मुख, र अन्ननली  समेतलाई असर पुर्याउँछ । धूमपान गर्ने व्यक्तिको अकालमै मृत्यु हुने सम्भावना धूमपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुणा बढी हुन्छ। निष्क्रिय धूमपान गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।'

'हुक्का ४ देखि ५ जनाभन्दा धेरै व्यक्तिहरुले सामूहिक रुपमा लिने भएकाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सजिलै संक्रमण र पाइपको सफाई नगरेमा विभिन्न प्रकारका सरुवा रोगको खतरा उच्च हुन्छ। चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्बनमोनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुन्छ', वरिष्ठ डा. खनालले भने ।

हुक्का सेवन अन्य सूर्तीजन्य पदार्थजस्तो हानिकारक होइन भन्ने गलत विश्वास र भ्रमका कारण युवामाझ पछिल्लो समय लोकप्रिय बन्दै गएकाले हुक्काले ज्यानै लिने रोगहरु उत्पन्न गराउन सक्ने जोखिमलाई प्रवाह नगरी यसका प्रयोगकर्ता दिनहुँ बढ्दै गएको पाइएको छ । 

यसो भन्छन्, स्वास्थ्य जानकार 
चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरु हुक्का पिएको फोटो भने सामाजिक सञ्जालमा अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा किशोरकिशोरीहरु प्रभावित भएर हुक्काको कुलतमा लाग्ने गरेको देखिन्छ । रेष्टुरेन्टहरुमा १५ देखि २५ वर्ष उमेर समूहका युवायुवतीहरुले नियमित हुक्काको प्रयोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको स्वास्थ्य जानकार चुडामणि पोख्रेल बताउँछन् ।

उनका अनुसार हुक्काले दीर्घकालीन असरहरु दम, मुटुसम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मुख, घाँटी, पेटको क्यान्सर, पल्मोनरी इन्फेक्सनजस्ता रोगहरु लाग्ने सम्भावना हुने मृत्युदरको मात्रा बढाउने गर्छ । 

हुक्कामा निकोटिन मात्र होइन, विभिन्न क्यान्सरजन्य पदार्थ रहेको अनुसन्धानबाट पत्ता लागिसकेको छ। हुक्कामा सूर्तीलाई तातो बनाई धुँवा उत्पन्न गर्न बलिरहेको चार्कोल प्रयोग गरिन्छ, यसमा अतिरिक्त अन्य विषाक्त तत्वहरु पनि हुन्छन् ।

हुक्कामा निकोटिन, तार, कार्बनमोनोअक्साइड, आर्सेनिक, बेन्जिन, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता हानिकारक तत्व प्रयोग गरिएको हुन्छ । जसले मानव स्वास्थ्यका लागि गम्भीर समस्याहरु उत्पन्न गराउने जानकार पोख्रेलको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ