arrow

नर्सलाई भोलेन्टियर राख्ने कार्य बन्द गरौँ : स्वास्थ्यमन्त्री थापा

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
thaas.jpeg
काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले कुनै पनि निजी वा सरकारी अस्पतालले (परिचारिका)नर्सलाई भोलेन्टियर राख्ने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन् । 
 
शुक्रबार निजी अस्पतालको छाता सङ्गठन ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)’ को १९औँ वार्षिक साधारणसभामा मन्त्री थापाले ठूलो लगानी गरी पढेका नर्स र अन्य पारामेडिक्सलाई भोलेन्टियर राखी उनीहरुको श्रम शोषण बन्द गर्न आग्रह गरेका हुन् । 
 
थापाले भने, “नर्सलाई भोलेन्टियर राख्ने कार्य आजैबाट बन्द गरौँ । अब अस्पतालको अवलोकनका क्रममा सो कुरा पनि अनुगमन हुनेछ ।” उनले नर्सलाई सित्तैमा काम गराएको पाइएमा त्यस्ता अस्पताललाई नवीकरण नगरिने चेतावनी पनि दिए। 
 
मन्त्री थापाले निजी अस्पतालले गुणस्तरीयताको दाबी गर्दैगर्दा अस्पतालको सेवाको पारदर्शीताबारे पनि बिरामीलाई विश्वस्त गराउनसक्नुपर्ने उल्लेख गरे। 
 
थापाले बाहिरबाट सफा देखिने निजी अस्पतालले पनि सरसफाइ व्यवस्थापन गर्न नसकेको भन्दै भित्री इन्फेक्सन व्यवस्थापन गर्नुपर्नेतर्फ सचेत गराए । आफू निजी अस्पतालका समस्या समाधानका लागि तयार रहेको बताउँदै मन्त्री थापाले त्यसका सरकारले जनस्वास्थ्य ऐन ल्याउन लागिएको जानकारी दिए । 
 
उनले भने, “सरकारले निजी अस्पतालले १० प्रतिशत निःशुल्क सेवा गरिब तथा विपन्नलाई दिनुपर्ने, शल्यक्रिया गर्दा मापदण्डअनुसार दक्ष चिकित्सक र स्वास्थ्यकर्मी राख्नुपर्ने लगायतका कुरा कडाइका साथ लागू गर्नुपर्छ ।” 
 
एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले निजी क्षेत्रका पनि थुप्रै कमजोरी रहेको भन्दै पारदर्शिता कायम गर्नका लागि सरकारसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
 
अफिनका सुदूरपश्चिमाञ्चल उपाध्यक्ष गजेन्द्रवीर सिंहले सरकारले नवीकरणका नाममा निजी अस्पताललाई ‘दुहुनो गाई’ बनाएको आरोप लगाए ।  शनिबारसम्म चल्ने साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ