arrow

विश्व चर्पी दिवसः दुई अर्ब चालिस करोड मानिस शौचालय विहीन

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
world_toilet_day_2015_logo.jpeg
भक्तपुर । आज ‘विश्व चर्पी दिवस’ । विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर ४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । विश्वमा दुई अर्ब चालिस करोड मानिस शौचालय विहीन भएको बताइएको छ । दिगो विकासको लक्ष्य २०१५ मा सन् २०३० भित्र विश्वका हरेक स्थानमा हरेक मानिसमा शौचालयको पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ । विश्व स्वास्थ्य सङ्गठन २०१५ को तथ्याङ्कानुसार विश्वभर १० जनामा एक जनाले खुलेआम दिसापिसाब गर्ने गरेको पाइएको छ । 
 
डब्लुएएस–एच वाच २०१६ का अनुसार तीन लाख १५ हजार बालबालिका प्रत्येक वर्ष शौचालयको अभावमा झाडाबान्ताको सिकार हुने गरेका छन् । नेपाल सरकारले सन् २०१७ भित्र सबै नेपालीका घर घरमा शौचालय निर्माण गरिसक्ने लक्ष्य लिएको छ । यसै अभियान अन्तर्गत जिल्ला जिल्लामा खुल्ला दिसामुक्त अभियान सञ्चालन भइरहेको छ । हालसम्म ३८ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको छ । भक्तपुरलाई विसं २०७१ कात्तिक ४ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । 
 
जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने सरकारी कार्यालय मालपोत, नापी, जिविस, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, प्रहरी कार्यालय र नगरपालिकाका कार्यालयमा शौचालयको उचित प्रबन्ध नहुँदा सेवाग्राहीले निक्कै सकस व्यहोर्न बाध्य हुनुपरेको छ । 
 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन गरे पनि जिल्लामा सार्वजनिक शौचालयको उचित प्रबन्ध गर्न सकेको छैन । घोषणापछि तीव्रगतिमा सञ्चालन हुनुपर्ने पूर्ण सरसफाइ अभियानले गति लिन नसक्दा जिल्लाको शौचालयको अवस्थामा सुधार आउन नसकेको हो । 
 
घोषणा भएको तीन वर्षमा जिल्लामा साबिकको कटुन्जे र ताथली गाविसमा एक एक र हालै अनन्तलिङ्गेश्वर नगरपालिकाको दधिकोटमा एउटा सार्वजनिक शौचालय निर्माण भएका छन । खुला दिसामुक्त क्षेत्र घोषणा भएको तीन वर्ष भइसक्दा पनि सरकारी निकायको शौचालयको उचित व्यवस्थापन गर्न नसकेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला स्वीकार गरे। उनले अनुगमनलाई निरन्तरता दिन नसक्दा सरकारी निकायको शौचालयको अवस्थामा सुधार आउन नसकेको बताए।
 
कोइरालाले जिविसको शौचालयको अवस्था नाजुक भएको स्विकार्दै विशेष गरी ठाउँको अभावले गर्दा जिविसमा सेवाग्राहीलाई सुविधासम्पन्न शौचालय बनाउन नसकिएको बताउए । उनले भने, “सेवाग्राहीको त के कुरा गर्ने आफ्नै कर्मचारी समेत नाक खुम्चाएर हिँड्न बाध्य भएको देखेको छु ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ