arrow

सागरमाथि विमानमा एक्कासी कम्पन भएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
latam-airlines.jpg

काठमाडौँ । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण विमानमा कम्पन आउँदा कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानको उचाई एक्कासी गुमेको र सिटबेल्ट नभएकाहरू सीटमा उफ्रेका थिए । 

प्रत्यक्षदर्शी यात्रुले रेडियो नेटवर्क आरएनजेडसँग भने, “सिटबेल्ट नलगाएका कारण मानिसहरू सीटमा उफ्रिएका थिए ।”

आवाज थरथर काँपिरहेको अवस्थामा उनले भने, “केही मानिस गम्भीर घाइते भएका छन् । यात्रुहरू पनि साँच्चै डराएका थिए ।” 

चिलीस्थित एयरलाइन्सका प्रवक्ताले उडानका क्रममा भएको प्राविधिक घटनाका कारण विमानमा ‘ठूलो हलचल’ भएको बताएका छन् । 

“विमान अकल्याण्ड विमानस्थलमा निर्धारित समयमा अवतरण गरेको थियो,” उनले भने । 

घटनाको कारण खुल्न सकेको छैन ।

सेन्ट जोन न्युजिल्यान्ड एम्बुलेन्स सेवाका जेरार्ड क्याम्पबेलले विमान न्युजिल्यान्डको अकल्याण्ड सहरमा ओर्लिएपछि चिकित्सकलाई समस्याबारे जानकारी गराइएको बताए ।

घाइतेको उपचारका लागि एक दर्जनभन्दा बढी एम्बुलेन्स र अन्य मेडिकल गाडीको टोली विमानस्थलमा पुगेको थियो ।

क्याम्पबेलले भने, “हाम्रो एम्बुलेन्स चालक दलले लगभग ५० जना बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो, जसमा एक बिरामी गम्भीर अवस्थामा थिए र बाँकी मध्यम देखि सामान्य अवस्थामा थिए ।”

विरामी सबै जनालाई अस्पताल पु¥याइएको उनले बताए । 

लाटामका अनुसार ‘बोइङ ७८७ ड्रीमलाइनर’ विमानमा उडानका क्रममा समस्या आएको हो । 

अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरूमा दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याहरूको शृङ्खलाको सामना गर्नुपरेको छ ।

एअरलाइन्सले भनेको छ, “यस परिस्थितिले निम्त्याएको असुविधाप्रति लाटाम गहिरो खेद प्रकट गर्दछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ