arrow

हेटौडामा जीप दुर्घटना, दुईको मृत्यु, सुरक्षाकर्मीसँगै उद्धारमा खटिए कमल थापा

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
kamal-thapa-ghatanasthalma.jpeg

हेटौडा। मकवानपुरको भीमफेदी जुरीखेतमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएको तीन मध्ये एकको अवस्था चिन्ताजनक छ। मृत्यु हुनेमा काठमाडौं बस्ने ५५ वर्षका शरद वैद्य र  काठमाडौं ठमेलस्थित ज्याठाकी ३५ वर्षीया अनुजा  श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। वैद्यको  दुर्घटनास्थल जुरीखेतमा र  श्रेष्ठको उपचारको क्रममा भीमफेदी स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

घाइते तीन मध्ये मृतक अनुजाका श्रीमान् दीपक श्रेष्ठको अवस्था चिन्ताजनक रहेको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले हाम्राकुरालाई जानकारी दिए । उनीहरु हटौडा– २ मा रहेका आफन्त कहाँ गएका प्रहरीले जनाएको छ। घाइते दीपक, जीप चालक दीपक भुजेल र १० वर्षकी आइसा श्रेष्ठको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

उद्धारमा खटिए कमल थापा
बा ३ च ९२८९ नम्बरको जीप दुर्घटनाका घाइते र मृतकको उद्धारमा सुरक्षार्मी र स्थानीयसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि खटिए। थापासँगै रहेका राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले आफुहरु काठमाडौं फर्कदै गरेको र दुर्घटनास्थल पुग्नेवित्तिकै अध्यक्ष थापा उद्धारमा खटिएको जनाएका छन् । थापा केही दिन अघि जिल्लाका कार्यक्रमका लागि त्यसतर्फ गएका थिए।

काठमाडौंबाट हेटौडा हिँडेका जीप हेटौडा—भीमफेदी—कुलेखानी—सिस्नेरी—दक्षिणकाली हुँदै राजधानी प्रवेश गर्ने सडकको भीमफेदी गाविस ८ जुरीखेतमा शनिबार बिहान दुर्घटना भएको हो । राजधानी काठमाडौं प्रवेश गर्ने यो छोटो दुरीको वैकल्पिक मार्ग हो।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । अत्यधिक गतिमा रहेको जीप मोड्ने क्रममा ब्रेक नलागेर खसेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ