arrow

पुँजी उपलब्ध गराउँदा पनि औषधि पसल सञ्चालन भएनन्

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
medicine1-1.jpeg
काठमाडौँ । औषधिको गुणस्तरीयता कायम राख्न तथा बिरामीलाई ठगिनबाट जोगाउन सरकारले हरेक सरकारी स्वास्थ्य संस्थालाई आफ्नै औषधि पसल खोल्न निर्देशन दिँदै बीउ पुँजी समेत पठाइसकेको छ । तर औषधि पसल सञ्चालन भने अझै हुन सकेको छैन । 
 
अस्पतालभित्र वा स्वास्थ्य संस्था वरपरी खोलेका निजी औषधि पसलबाट बिरामी त ठगिएका छन् नै, त्यसमा पनि सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका औषधि पनि किन्न बाध्य हुन्छन् । आफै औषधि पसल खोल्दा घाटा हुने र व्यवस्थित समेत गर्न नसकिने हुँदा सरकारी अस्पतालले आफैं औषधि पसल खोल्न आलटाल गर्दै आइरहेका छन् । तर, आफ्नै औषधि पसल राख्दा बिरामीलाई सुपथ मूल्यमा गुणस्तरीय औषधि वितरण गरेर पनि राम्रो मुनाफा गर्न सकिन्छ भन्ने उदाहरण बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले दिएको छ । 
 
केन्द्रका कार्यकारी निर्देशक डा ज्योतेन्द्र शर्माले केन्द्र सुरु भएदेखि नै सञ्चालनमा आएको औषधि पसलबाट वार्षिक रु आठ करोड भन्दा बढी रकम खुद नाफा गर्ने गरेको जानकारी दिए । केन्द्रले यसबाट नाफामात्र गर्दैन, आफ्नो कूल खर्चको ६० प्रतिशत खर्च पनि त्यसैबाट गर्ने गर्दछ । 
 
गत आवमा औषधि पसलबाट  ३८ करोड ८० लाख आम्दानी भएको र त्यसमध्ये रु आठ करोड भन्दा बढी खुद नाफा भएको बताउँदै उनले भने, “हामीलाई औषधि पसलबाट सुरुदेखि नै घाटा भएको छैन, अस्पतालले आफैं सञ्चालन गरेको औषधि पसल, प्रयोगशाला र एक्सरेबाट आम्दानी गर्ने गरेका छन् ।” 
 
कार्यकारी निर्देशक डा शर्माले केन्द्रले बेच्ने औषधिमा बढीमा १६ प्रतिशत मात्र नाफा राख्ने गरेको र जसकारण बिरामीले सुलभ दरमा औषधि पाउने गरेको बताउँदै आफ्नै औषधि पसल सञ्चालन गर्दा नाफा हुँदैन, घाटामा गइन्छ भन्नु गलत भएको धारणा राखे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ