arrow

नयाँ अपहरण काण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
map-nigeria.png.png

काठमाडौँ । उही स्थानको एक विद्यालयबाट दुई सय ५० भन्दा बढी विद्यार्थीको अपहरणको केही दिनपछि बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाली गाउँबाट दर्जनौँ मानिसको अपहरण गरेको दुई स्थानीय प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घको एक स्रोतले बताएका छन् । 

आपराधिक गिरोहले प्राय उत्तरपश्चिमी नाइजेरियामा सामूहिक अपहरण गर्छन् । फिरौतीका लागि ठूलो सङ्ख्यामा मानिसहरूलाई लुट्न उनीहरूले विद्यालय, गाउँ र राजमार्गहरूलाई निशाना बनाउँछन् । 

गत साता करिब एक सय ५० किलोमिटर टाढा कुरिगा गाउँमा अपहरणमा परेका विद्यार्थीहरूको सुरक्षा बलले खोजी गरिरहेका बेला मङ्गलबार कदुना राज्यको काजुरु जिल्लामा पछिल्लो अपहरणको घटना भएको हो । 

ठूलो सङ्ख्यामा अपहरणको घटनाले राष्ट्रपति बोला अहमद टिनुबुको सरकारलाई चुनौती दिइरहेको छ । राष्ट्रपति टिनुबुले जीवनयापनको लागत सङ्कटको व्यवस्थापन गर्ने र अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकमा थप लगानी भित्र्याउने वाचा गरेका थिए । 

कदुना राज्यका अधिकारीहरूले बुधबार नयाँ हमलाका बारेमा जानकारी माग्दा तत्काल कुनै जवाफ दिएका छैनन् । यद्यपि स्थानीय काउन्सिलर अबुबकर बुडाले च्यानल्स टिभीलाई बन्दुकधारीहरूले मङ्गलबार बिहान गाउँमा आक्रमण गरेको र घरघरमा गएर बासिन्दाहरूको अपहरण गरेको तथा छिटपुट गोली चलाएको जानकारी दिए । 

च्यानल्सका अनुसार बुडाले सैन्य हस्तक्षेपले मात्र थप मानिसको अपहरणलाई रोकेको बताए । राज्यका सांसद उस्मान दानलामी स्टिङ्गोले ३२ महिला र २९ पुरुषको अपहरण भएको एराइज न्युजलाई जानकारी दिए । 

सार्वजनिकरूपमा मिडियासँग बोल्ने अधिकार नभएका संयुक्त राष्ट्रसङ्घको एक स्रोतले पनि बन्दुकधारीहरूले मङ्गलबार बिहानै गाउँमा आक्रमण गरेको जानकारी दिएको छ । “प्रारम्भिक आँकडाअनुसार ४० मानिसको अपहरण भएको थाहा भएको थियो तर यो सङ्ख्या बढेर करिब ६० पुगेको छ”, स्रोतले भन्यो । 

अधिकारीहरूका अनुसार कुरिगा विद्यार्थीहरूलाई बचाउनका लागि सेनाले उत्तरपश्चिममा जङ्गलहरूमा खोजिरहेको बताएका छन् तर परिवारहरूका अनुसार अपहरणपश्चात अत्यन्त कम जानकारी प्राप्त भएको छ । 

“सरकारले अपहरणकारीसँग यो मुद्दा उठाउँदा हामी यो त्रासदी समाधान गर्न ईश्वरीय सहयोगका लागि प्रार्थना जारी राख्नेछौँ”, आफन्त मुहम्मद कबिरले बुधबार भने । 

मङ्गलबार राष्ट्रिय प्रहरी बलका महानिरीक्षक कायोडे एग्बेटोकुनले ‘कदुना बासिन्दा, विशेषगरी ग्रामीण समुदायका मानिसहरूको डर कम गर्न र उनीहरूमा विश्वास निर्माण गर्न’ राज्यभर अधिकारीहरू परिचालन गर्ने वाचा गरे । 

बोको हराम आतङ्कवादीहरूले सन् २०१४ मा बोर्नो राज्यको चिबोकबाट विद्यालयका दुई सय ५० भन्दा धेरै छात्राको अपहरण गरेर ठूलो अन्तर्राष्ट्रिय आक्रोश उत्पन्न गरेको करिब १० वर्षपछि कदुना राज्य र उत्तरपूर्वमा सामूहिक अपहरणको यो घटना भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ