arrow

प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदका प्रश्नको जवाफ दिँदै, रविलाई चोख्याउँदै, के भन्लान् नारायणकाजीबारे ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
prachanda-80-11-30b.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक मंगलबार बिहान बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

त्यस्तै बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भनी संसदमा पेश गर्नेछन् । साथै, आर्थिक वर्ष २०८१–८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

रविलाई चोख्याउँदै, नारायणकाजीलाई के गर्लान् ? 
यतिबेला संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरिरहेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका रविलाई सोही घटना नै हेर्ने मन्त्रालयको जिम्मा दिएर प्रधानमन्त्री प्रचण्डले गलत गरेको भन्दै तत्काल बर्खाास्त गर्न माग गरिरहेको छ । 

कुनै पनि घटनामा जोडिएपछि त्यस्ता मन्त्रीले नैतिकताका आधारमा पनि मन्त्री हुन नहुने कांग्रेसको जोड छ । प्रधानमन्त्री प्रचण्डले यसअघि आफैँले पनि त्यस्ता विवादित मन्त्रीलाई टिममा नराख्ने बताउँदै आएका थिए । 

तर सत्ता समीकरण मिलाउने नाममा कुर्सीमा रहिरहने लोभका कारण प्रधानमन्त्री प्रचण्डले विवादमा आइसकेका रविलाई पहिलेकै गृह मन्त्रालयको चाबी दिए । उनले मंगलबार संसदमा रविलाई बचाउने नै गरी जवाफ दिने बताइसकेका छन् । 

कान्तिपुर टेलिभिजनको फायरसाइडमा अन्तर्वार्ता दिने क्रममा सोमबार राति प्रचण्डले रवि निर्दोष भएको बताएका हुन् । उनले आफूले छुट्टै अनुसन्धान गरेको र रविका बारेमा सकारात्मक रिपोर्ट आएको दाबीसमेत गरेका छन् । 

कांग्रेसले लगाएको आरोप स्वार्थको आरोप भएको भन्दै उनले रविलाई सतप्रतिशत चोख्याउने प्रयत्न गरेका छन् । त्यतिमात्र हैन उनले रविलाई देवत्वकरण गर्ने प्रयाससमेत गर्ने उनको अन्तर्वार्ताको हाउभाउले देखाएको थियो । 

उनकै पालामा गत वर्ष रवि गृहमन्त्री भएका बेलामा नागरिकता विवादमा फसेपछि राजीनामा दिनु परेको थियो । त्यतिमात्र होइन रविको सांसद पदसमेत गएपछि चितवनमा उपनिर्वाचनसमेत गर्नुपरेको थियो । 

अहिले फेरि उनीमाथिको विवाद कायमै छँदा प्रचण्डले जिम्मेवार मन्त्रालय सुम्पिए । उस्तै प्रकृतिको सहकारी मुद्दामा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा अहिले हिरासतमा छन् । तर रवि भने गृहमन्त्रीको कुर्सीमा छन् । 

परराष्ट्र मन्त्री नारायणकाजीको नैतिकतामाथि पनि गम्भीर प्रश्न
परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिकताको प्रश्न खडा भएको छ । अवैध सुन प्रकरणमा उनी पनि प्रत्यक्ष परोक्ष जोडिएको देखिन्छ । 

उनी गृहमन्त्री हुँदा सुन प्रकरणमा मुछिएको आरोप लागेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई बचाउन उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) माथि हस्तक्षेप गरेका थिए । 

उनी आफैँ सीआईबीमा गएर महरासहित केहीको अनुसन्धानको फाइल बन्द गर्न निर्देशन दिएका थिए । 

अहिले उनकै निर्देशन मान्ने एआईजी (सीआईबीकी तत्कालीन प्रमुख) किरण बज्राचार्यलाई सीआईबी प्रमुखको पदबाट हटाएर विभागीय कारबाहीको सिफारिस भएको अवस्थामा उनलाई निर्देशन दिने नारायणकाजीलाई कारबाही खोइ त ? भन्ने प्रश्न टड्कारो बनेको छ । 

उनै तत्कालीन गृहमन्त्री नारायणकाजी अहिले परराष्ट्र मन्त्री छन् । उनलाई प्रधानमन्त्री प्रचण्डले बर्खास्त गर्ने कि नगर्ने ? अनि उनीमाथि अनुसन्धान हुने कि नहुने ? 

उनै नारायणकाजीले आफ्नो नेतालाई बचाए पनि सोमबार मात्रै सीआईबीले महरालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । जबकि अवैध सुन प्रकरणमा महराका छोरा राहुल सात महिनाअघिदेखि जेलमा छन् । 

प्रधानमन्त्री प्रचण्डले सुशासनको नारा घन्काइरहने तर आफ्नै पार्टीका आपराधिक चरित्रलाई बोक्दै हिँड्ने हो भने उनको नारा केबल जनता झुक्याउने कदम बाहेक केही पनि हुने छैन । 

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्ड विगत १७ वर्षदेखि नेपाली राजनीतिको शक्तिशाली व्यक्तिका रुपमा अगाडि छन् तर उनले पदीय मर्यादा बिर्सेर गर्ने यस्ता गल्तीले मुलुकको विधिको शासनको धज्जी बाहेक केही पनि उडाएको पाइँदैन । 

सुन प्रकरणमै अन्य मन्त्रीको नाम पनि जोडिएको छ । सर्वहारा वर्गको उत्थानका लागि २०५२ सालमा थालेको सशस्त्र द्वन्द्वले मुलुक थिलोथिलो भए पनि न सर्वहारा वर्गको उत्थान भयो न मुलुक नै बन्न सक्यो । सक्यो त केवल उनकै वरिपरि रहेकाहरूको प्रगति । यसको जवाफ पनि प्रधानमन्त्रीले संसदमा दिने अपेक्षा गरौँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ