arrow

सरकारी वकिलको कार्यालयमा सांसद चौधरीले भने – नियमअनुसार लिलामीमार्फत बाँसबारीको जग्गा लिएको हो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
binod-chaudhary-2080-04-31.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीलाई सरकारी वकिलको कार्यालयले बयान लिएको छ । बिहान सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका सांसद चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अधिकारी र सरकारी वकिलले बयान लिएका हुन् । 

बिहीबार बिहान ८ बजे आफैँ सरकारी वकिलको कार्यालयमा पुगेका चौधरीले नियम अनुसार लिलामीमार्फत जग्गा लिएको बताएका छन् । सो प्रकरणमा उनका माइला भाइ वसन्त चौधरीलाई सीआईबीले बुधबार सोधपुछ गरेर छाडेपछि बिहीबार बिहान सांसद चौधरीसँग बयान लिन सरकारी वकिल कार्यालयमा बोलाइएको थियो  । बयान दिएर उनी फर्केका छन् ।

बुधबार दिउँसो सीआईबीले सभामुखलाई पत्राचार गर्दै विनोद चौधरीमाथि अनुसन्धान भैरहेको जानकारी दिएको थियो । संसदमा चौधरीले बाँसबारी जग्गा प्रकरणबारे आफ्ना धारणा राखेको दोस्रो दिन सीआईबीले अनुसन्धान भैरहेको जानकारी सभामुखलाई दिएको थियो । 

सो जानकारी संविधानसँग मेल खाँदैनन्थ्यो तर पनि राजनीतिक रुप रंग दिएर हिरोइन्जमका लागि त्यो पत्राचार गरिएको बताइएको छ ।
 
संविधानको धारा १०३ (६) मा  ‘सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ भनिएको छ । 

तर सीआईबीले पक्राउ नै नगरी सभामुखलाई जानकारी दिनुले रास्वपाले राजनीति गर्न खोजेको स्पष्ट देखिएको कांग्रेसका नेताहरुले बताएका छन् । सोमबार सांसद चौधरीले संसदमा बाँसबारी छाला जुत्ता कारखानाको शेयर खरिद–बिक्री विषय राजनीतिक बन्नु दुःखलाग्दो कुरा भएको बताएका थिए । 

सांसद चौधरीले बाँसबारी कारखानाको विषय नितान्त आर्थिक भएको भन्दै यो राजनीतिक विषय बन्नु दुःखलाग्दो कुरा भएको बताएका थिए । बाँसबारी कारखानाको शेयर तत्कालीन सरकारले थालेको प्रक्रिया अनुरूप खरिद भएको उनले बताएका थिए । 

‘बाँसबारी छाला जुत्ता कारखानासँग च्याम्पियन फुटवेयर कारखानाको नाममा भएको २५ प्रतिशत शेयरसमेत लिलामीमार्फत् बिक्री गर्ने तत्कालीन नेपाल सरकारको निर्णयअनुसार लिलामीको दोस्रो सूचनामा उत्कृष्ट प्रस्ताव गर्ने शेयरधनीलाई निजीकरण कानून बमोजिम शेयर हस्तान्तरण भएको थियो’, चौधरीले संसदमा भनेका थिए । 

चौधरीले आफू विगत ४५ वर्षदेखि नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाउने अभियानमा सक्रियतापूर्वक लागेकोसमेत बताएका थिए । ‘म आफ्नो उद्यम व्यवसायको माध्यमबाट होस्, निजी क्षेत्रका नेतृत्वदायी संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षका रूपमा होस् वा राजनीतिका माध्यमबाट, मेरो एक मात्र उद्देश्य नेपाललाई आर्थिक रूपमा सम्पन्न मुलुकका रूपमा स्थापना गर्ने हो’, उनले भनेका थिए ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालीलाई गैरकानूनी रुपमा बिक्री गरिएको विषयमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालीको नाममा छ ।

अर्बपति व्यवसीयी एवं सांसद विनोद चौधरीमा कान्छा भाइ अरुण चौधरीलाई १८ माघमा  पक्राउ गरेर अनुसन्धान थालेको थियो  । त्यसैगरी माइला भाइ वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेपछि सीआईबीले उनलाई बिहीबार बिहान सरकारी वकिल कार्यालयमा बोलाएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ