arrow

बाँसबारी जुत्ता कारखानाको जग्गा सरकारको नाममा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
bhumi-mantri-balram.jpg

काठमाडौँ । सरकारले बाँसबारी जुत्ता कारखानाको नामको जग्गा आफ्नो मातहतमा ल्याएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले झण्डै १० रोपनी क्षेत्रफल रहेको उक्त जग्गा सरकारको नाममा ल्याएको जनाएको हो । 

मालपोत ऐनको दफा २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारीकरण गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त दफामा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गाको दर्ता वा आवाद गर्न नहुने र त्यसो गरिएमा मालपोत कार्यालय वा तोकिएको अधिकारीले त्यस्तो लगत कट्टा गर्ने जनाएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्र लेख्दै बाँसबारी जुत्ता कारखानाको नाममा रहेको उक्त जग्गा च्याम्पियन्स फुटवेयरको नाममा लैजाँदा प्रक्रिया पूरा नगरेको जनाइएको छ । 

सो क्रममा बाँसबारी छालाजुत्ता कारखानामा कार्यकारी अध्यक्ष अजितनारायण सिंहले आफूमा हुँदै नभएको अधिकार रहेको भनी उक्त जग्गा च्याम्पियन्स फुटवेयरको नाममा नामसारी गराइदिएको उल्लेख गरिएको छ ।  

शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री बलराम अधिकारीले उक्त जानकारी दिए । अहिले सो जग्गामा चौधरी ग्रुप अन्तर्गतको चाँदबाग स्कुल सञ्चालनमा छ । 

२०३८ सालमा सार्वजनिक निजी साझेदारी अन्तर्गत स्थापना गरिएको जुत्ता कारखाना बन्द भएपछि उक्त जग्गा चौधरी ग्रुप अन्तर्गत थियो । उक्त जग्गा हस्तान्तरणमा प्रक्रिया नपुगेको सरकारी पक्षको भनाइ छ ।  

यसअघि सोही जग्गाको विषयलाई लिएर नेपाल प्रहरीले चौधरी ग्रुपका सदस्य अरुण चौधरीलाई पक्राउ गरेको थियो भने बिहीबार मात्रै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग बयान लिएको थियो । 

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सरकारले गैरकानूनी रुपमा व्यक्तिको नाममा पुगेको सरकारी जग्गाहरु फिर्ता ल्याउने कामको निरन्तरताको रुपमा उक्त जग्गा सरकार मातहत ल्याएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ