arrow

यातायात व्यवसायीले सात घण्टा सडकमै गाडी तेर्स्याएपछि निस्कियो समाधान 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० चैत ९ शुक्रबार
yatayat-mugu-chayarara-80-1.jpg

मुगु । मुगुस्थित रारा छायानाथ यातायात प्रालीले आफ्ना सवारी साधनहरु सडकमै तेर्स्याएको छ । नगरपालिकाले बसपार्कमा सवारी साधनहरु नराखेको भन्दै शुक्रबार यातायात प्रालीका चालकमाथि नगरपालिका कर्मचारीले हातपात गरेको आरोप लगाउँदै सवारी साधन सडकमै तेर्स्याएका हुन् ।

नगरप्रमुख विष्णुकुमार भामका अनुसार जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा विभिन्न मितिमा भएका बैठकमा सडकमा बस नराख्ने,सबै बस बसपार्कमा राख्ने, बसपार्कमा सुरक्षा, शौचालय, खानेपानी, टिकट काउण्टर लगायतका अन्य भौतिक संरचना नगरपालिकाले निर्माण गर्ने निर्णय बमोजिम नगरपालिकाको आवश्यकीय संरचना बनाउँदा पनि ताकेताको बेवास्ता गरेपछि बाध्य भएर सवारी साधनहरु बसपार्कमा राख्न लगाउँदा यातायात व्यवसायी र प्रालीले अटेरी गर्दा सामान्य बल प्रयोग भएको हो ।

यता रारा छायानाथ यातायात प्रालीका सचिव सन्तोषबहादुर शाही आफूहरुले बसपार्कमा बस राख्न पठाएको तर जुम्ला र सुर्खेतका लागि हिँडेका जीप र बसलाई रोकी नगरपालिकाका कर्मचारीहरुले चालकमाथि हातपात गरेपछि बाध्य भएर विरोध गर्दै सडकमै गाडी तेर्स्याउनु परेको बताउँछन् । 

यातायात प्रालीले चालकमाथि हातपात गर्नेलाई कारबाही गर्नुपर्ने र माफी माग्नु पर्ने भन्ने र नगरपालिकाले बस बसपार्कमा राख्नु पर्ने नत्र कारबाही गर्छु भनिरहँदा समस्या समाधान हुन सकेको छैन ।

दुवैको अडानले गर्दा आफ्नो गन्तव्यमा निस्केका यात्रुहरु अलपत्र परेको र सडक जाम हुँदा निर्माणका सामग्री बोकेका ठूला गाडीहरु बाटोमै रोकिएका थिए ।

एकातिर यातायात व्यवसायी र प्राली अर्कोतर्फ नगरप्रहरी, प्रहरी र सशस्त्र आफ्नो सामने हुँदा झडपको स्थिति सृजना भएको थियो ।

शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गमगढी बजारको न्यूरोड अवरुद्ध भएको थियो ।

दिनभर तनाव र सडक बन्द भएपछि दुवै पक्षलाई बोलाई समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले छलफल गराएका थिए । 

छलफलमा धरकपड गर्ने नगरपालिकाका कर्मचारीको जिम्मा लिँदै नगरप्रमुखले गल्ती महसुस गरेपछि यातायात प्राली र नगरपालिकाबीच २ बुँदे सहमति गर्दै साँझ सडक तथा यातायात चालु भएको छ । 

शुक्रबारदेखि यातायात प्रालीले आफ्ना सवारी साधनहरु बसपार्कमा राखी नियमित सञ्चालन गर्ने र नगरपालिकाले बसपार्कमा हुनुपर्ने मापदण्ड अनुसारका सम्पूर्ण पूर्वाधारहरु तत्काल निर्माण कार्य शुरु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारि कसीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ