arrow

नरेन्द्र मोदीलाई भुटानी सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
modi-bhutan-24-03-22.jpg

थम्पू । भारतीय प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट सम्मान गरिएको छ । सम्मानलाई भारतीय प्रधानमन्त्री मोदीले देशका एक अर्ब चालीस करोड जनताको नाममा समर्पित गरेको बताएका छन् ।

उनले भुटानमा भारतीय सहयोगमा बनेको ‘ग्याल्त्सुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड हस्पिटल’को उद्घाटन पनि गरेका छन् । उनले नयाँ दिल्ली र थिम्पूबीचको सम्बन्ध निरन्तर बढ्दै जाने र यसले दुई देशका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । 

“म विनम्रताका साथ ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ स्वीकार गर्छु । यो पुरस्कार प्रदान गर्नुभएकोमा म भूटानका राजाप्रति आभारी छु । म यसलाई भारतका १४० करोड जनताप्रति समर्पित गर्छु । मलाई यो पनि विश्वास छ कि भारत–भुटान सम्बन्ध निरन्तर बढ्दै जानेछ र हाम्रा नागरिकहरूलाई फाइदा पुग्नेछ,” प्रधानमन्त्री मोदीले एक्स (ट्विटरमा) मा पोस्ट गरेका छन् ।

सम्मान प्राप्त गर्ने प्रधानमन्त्री मोदी पहिलो विदेशी विशिष्ट व्यक्ति र समग्रमा यो पुरस्कार पाउने चौथो व्यक्ति बनेका छन् । स्थापित वरीयता र प्राथमिकता अनुसार, ‘अर्डर अफ द ड्रुक ग्याल्पो’लाई आजीवन उपलब्धिको लागि सजावटको रूपमा स्थापित गरिएको हो भने यो भुटानी उच्च सम्मान हो । 

प्रधानमन्त्री मोदीलाई बिदाइ गर्न भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गे विमानस्थलमा पुगेका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदी र उनका भुटानी समकक्षी छिरिङ तोब्गेले थिम्पूमा भारत सरकारको सहयोगमा निर्माण गरिएको ‘ग्याल्टसुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड’ नामक अत्याधुनिक अस्पतालको संयुक्तरूपमा उद्घाटन गरेका थिए । नव निर्मित अस्पतालले भुटानमा आमा र बाल स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । 

भूटानमा १५० शैयाको अस्पताल निर्माणको लागि भारत सरकारले दुई चरणमा  सहयोग गरेको उक्त अस्पताल कूल एक अर्ब १९ करोडको लागतमा निर्माण गरिएको हो । 

अस्पतालका नयाँ सुविधामा बालरोग, स्त्रीरोग र प्रसूति, एनेस्थेसियोलोजी, अपरेसन थिएटर, शिशुरोग सघन उपचार र बालरोग सघन उपचारका लागि अत्याधुनिक सुविधाहरू हुनेछन् ।

भुटानी प्रधानमन्त्री तोब्गेले अत्याधुनिक अस्पताल निर्माणका लागि पूर्ण आर्थिक सहयोग गरेकोमा भारत सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

भुटानका स्वास्थ्य मन्त्री टान्डिन वाङचुकले प्रधानमन्त्री मोदीद्वारा अस्पतालको उद्घाटनको प्रतीकात्मक महत्वलाई जोड दिँदै यसलाई दुई देशबीचको स्थायी मित्रताको प्रदर्शनको रूपमा वर्णन गरे । 

मन्त्री वाङ्गचुकले अस्पतालका सबै सुविधाहरू भारत सरकारको सहयोग तथा साझेदारीमा निर्माण गरिएको बताउँदै दुई देशबीच बलियो द्विपक्षीय सम्बन्धको आधार बनाउने सहयोगी प्रयासहरू भइरहेको बताए । 

भूटानमा रहँदा प्रधानमन्त्री मोदीले भूटानी नरेश र प्रधानमन्त्रीलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच द्विपक्षीय कुटनीतिक, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री मोदी दुई दिने राजकीय भ्रमण सकेर शनिबार नयाँ दिल्ली फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ