- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरनल्ह (फागुपूर्णिमा) पर्व सुरु भएको छ ।
नेपालका विभिन्न क्षेत्रमा करिब १० हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाका अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।
फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली समुदायकी अगुवासमेत रहेका गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले जानकारी दिए ।
“तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उनले भने, “आफन्तलाई बोलाएर मिठा-मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।”
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।
घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ ।
तोरनल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरू आफ्नो जन्मथलो फर्किएका छन् । तोरनल्हमा थकाली समुदायले घर सिङ्गारपटार गरेका छन् ।
तोरन ल्हपर्वका अवसरमा थकाली समुदायका पुरुषहरू परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् भने महिलाहरू मौलिक वेशभूषामा सजिएर नाचगान गर्दै शुभकामना साटासाटा गरेर तोरनल्ह मनाउँछन् ।