arrow

केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन् : मन्त्री गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
padam-giri-minister.jpg

पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन् ।

पर्वतको लुंखुदेउरालीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताए ।

उनले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य चुनौती रहेको भन्दै अबको आठ/दश महिनामा धेरै कुरा परिवर्तन हुने बताए ।

उनले सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रवर्द्धनका लागि कामअघि बढाइ सकिएको बताउँदै न्यूनतम् साझा कार्यक्रमको सफल कार्यान्वयन गर्नतर्फ अग्रसर भएको दाबी गरे । मन्त्री गिरीले बढ्दो युवा पलायन रोक्नका लागि उचित युवामैत्री नीति ल्याउनतर्फ आफू लागेको बताए ।

गरिबमैत्री, युवामैत्री, लगानीमैत्री कानून र नीतिकै अभावमा तमाम समस्या पैदा भएको भन्दै अब नागरिकमैत्री ऐन कानून यो सरकारले ल्याउने दाबी गरे ।

अहिलेको सरकारलाई काम नगरी दिन कटाउने छुट नभएको उनले बताए । विगतका सरकारले सत्ता टिकाउने खेल मात्र खेलेका कारणमुलुक आज यो अवस्थामा पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासका लागि सरकारले चार वर्षसम्मै काम गर्ने उनको भनाइ छ ।

मन्त्री गिरीले यो सरकार पूरै कार्यकालसम्म रहने दाबी गरे । उनले लामो समयदेखि विचाराधीन रहेका विधेयक यो सरकारले आवश्यक प्रक्रिया पूरा गरी धमाधम संसद्मा पेश गर्ने र पारित गर्ने बताए ।

मन्त्री गिरीले विकास निर्माणमा तीनै तहका सरकारबीच समझदारी आवश्यक रहेको बताए । ठूलो योजना सङ्घीय सरकारबाट, मझौला खालका योजना प्रदेश र साना योजना स्थानीय तहबाट कार्यान्वयन गर्न सकेमा मात्र एकीकृत विकास हुने उनको भनाइ छ ।

आफूलाई दुई/दुई पटकसम्म प्रतिनिधिसभामा विजयी गराएर पठाउने पर्वतवासी नागरिकका चाहना र आवश्यकता पूरा गर्नका लागि हरदम प्रयासमा लागेको उनको भनाइ छ ।

उनले योजनालाई प्राथमिकीकरण गरेर बजेट माग गर्न पनि आग्रह गरे । सबैभन्दा बढी आवश्यक र धेरै जनताको माग भएका योजनालाई पहिलो प्राथमिकतामा र कम आवश्यकता भएका योजनालाई पछि बनाउने गरी बजेट माग गर्न उनले आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ