arrow

तपाइहरुको अनुहारमा काँग्रेस देखिरहेको छैन, ‘देखेको छु त केवल देउवा, पौडेल, सिटौला र खुमबहादुर’

जब शेखर दाई बाई बाई भनेर नारा लाग्यो, तब शेखर झोंकिए

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ मंसिर ६ सोमबार
shekhar-rolpa-news.jpeg

रोल्पा । काँग्रेस नेता शेखर कोइरालाले नेपाली काँग्रेस कमजोर भए देश कमजोर हुने बताएका छन् । रोल्पा पुगेका नेता कोइरालाले भने, ‘काँग्रेस कमजोर भए देश कमजोर हुन्छ, देश कमजोर भए विदेशी चलखेल बढ्छ । त्यसैले नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्र गुट उपगुट भएर होइन पार्टीका नेता तथा कार्यकर्ताहरु एकजुट भएर अघि बढ्नु पर्छ ।’

काँग्रेस रोल्पाले गरेको कार्यक्रममा कोइरालाले नेता तथा कार्यकर्तालाई भनेका छन्, ‘मैले तपाइहरुको अनुहारमा नेपाली काँग्रेस देखिरहको छैन । देखेको छु त केवल शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण शिटौला र खुमबहादुर ।’

शेखरले आफू भने कुनै गुटउपगुटको राजनीतिमा नलागेर केवल नेपाली काँग्रेसलाई बलियो बनाउनकालागि प्रयत्नशील रहेको जिकिर गर्दै गुट उपगुटको राजनीति समाप्त नभएसम्म आफ्नो यात्रा नरोकिने समेत सुनाए ।

नेविसंघको केही महिना अघि सम्पन्न केन्द्रीय अधिवेशनमा तत्कालिन नेविसंघका उम्मेदवार मनोजमणी आचार्यलाई हराउनमा शेखर कोइरालाको हात रहेको भन्दै नेपाल विद्यार्थी संघका रोल्पाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रम शुरु हुँदाहुँदै मनोज दाइ हाइ हाइ, शेखर दाई बाई बाई भनेर नारा लगाउदै कार्यक्रम विथोल्ने प्रयास गरेका थिए ।

यस विषयमा शेखरले काँग्रेसमा जस्तो गुट उपगुट नेविसंघमा पनि भएको हुँदा आफूलाई यस्तो आरोप लागेको हुन सक्ने बताउँदै आफूले मनोमणी आचार्यलाई हराउन कुनै किसिमको प्रयास नगरेको बताए । उनले भने, ‘कसैको इसारामा हिँडे तपाइहरु पनि फस्नुहुन्छ ।’

कार्यक्रममा कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं कांग्रेस नेता गोविन्दराज पोख्रेल, रोल्पाका सभापति अमरसिंह पुन, प्यूठानका सभापति अमरप्रसाद भण्डारी, महासमिति सदस्य बिष्णु गिरी, नेपाली कांग्रेस रोल्पाका पूर्व सांसद लेखनाथ आचार्यलगायत उपस्थित थिए । कोइरालाको टोलि सोमबारै रोल्पाबाट फर्किएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ