arrow

गृहमन्त्री लामिछाने नैतिक घेरामा

एआईजी ज्ञवाली र सुनकाण्डका आरोपी चलाउनेबीच भएको कुराकानीको सीडीआर रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
shyam-gyawali-jivan-chalaun.jpg

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएका एआईजी श्याम ज्ञवाली र अवैध सुन प्रकरणमा मुछिएका जीवन चलाउनेबीच कुराकानी भएको सीडीआर रिपोर्ट फेला परेको छ । 

उनै चलाउनेसँग दुई करोड रुपैयाँ माग्ने र त्यसका लागि पटक पटक कुराकानी गरेको सीडीआर रेकर्ड फेला परेको हो ।  

सन् २०२३ को जुलाई ३ तारिखमा २७ मिनेट कुराकानी गरेको रेकर्ड फेला परेको हो । त्यसपछि पनि उनीसँग पटक पटक कुराकानी गरेको रेकर्ड फेला परेको छ । 

९८५११२७५९० मोबाइल नम्बर चलाउनेको हो भने ९८५१२८०३८२ मोबाइल नम्बर एआईजी ज्ञवालीको हो । 

ज्ञवालीले आफू आईजीपी हुनुपर्यो भन्दै चलाउनेसँग पैसा मागेको विषयमा चलाउने स्वयंले पनि भिडियोमार्फत सार्वजनिक गरिसकेका छन् । 

उनले पैसा मागेको विषय बाहिर आएपछि रवि लामिछानेमाथि नै प्रश्न उठेको थियो । यो विषयमा नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले एआईजी श्याम ज्ञवालीको नियतमाथि प्रश्न गरेका थिए । 

गत हप्ताको शून्य समयमा संसदमा बोल्दै उनले सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको भन्दै उनैलाई ब्युरोको प्रमुख बनाउनु शङ्कास्पद रहेको बताएका हुन् । 

यता सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछाने चुपचाप छन् । सुन तस्करीको अनुसन्धानको क्रममा नियतवश प्रमाण नष्ट गरेको भन्दै सरकारले ब्युरोमा रहेकी एआईजी किरण बज्राचार्यको सरुवा गर्दै ज्ञवालीलाई सीआईबीमा ल्याएको थियो । ज्ञवाली सीआईबीमा आउनु अगाडि कार्यविभागमा थिए ।

उनी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा हुँदा आफूसँग दुई करोड रुपैयाँ मागेको र सो रकम नदिएपछि आफूविरुद्ध लागेको सुन तस्करीका प्रतिवादी रहेका चलाउनेले दाबी गरेका थिए । 

चलाउनेले एउटा भिडियो सार्वजनिक गर्दै व्यवसायी रवि केसीसहित आफूलाई पहिला बालुवाटारमा रहेको एक रेस्टुरेन्टमा बोलाएर पैसा मागेको र पछि घरमै बोलाएर ज्ञवालीले पैसा मागेको दाबी गरेका थिए । 

सीडीआर रिपोर्टमा पनि उनीहरु दुवै जनाबीच कुराकानी भएको स्पष्ट देखिएको छ । ‘एआईजी ज्ञवाली र डीएसपीले मागेको पैसा नदिँदा मलाई फसाइयो, म फर्कँदैछु’ मैले झुट बोलेको हो भने मेरो, रवि केसीको र एआईजी श्याम ज्ञवालीको सम्बन्धित दिनको मोबाइल लोकेशन हेरे हुन्छ त । यदि हामी तीनै जनाको लोकेशन एकै ठाउँमा देखिएन भने म थप कारबाही भोग्न तयार छु’ चलाउनेले सार्वजनिक गरेको भिडियोमा भनेका छन् ।

ज्ञवाली माओवादी केन्द्रको समर्थनमा प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए । तर अन्तमा नेपाली कांग्रेसको दबाबमा वसन्त कुँवर प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहाल र उनका श्रीमान् जीवन आचार्यको जोडबलमा ज्ञवालीले आईजीपीका लागि दबाब दिएका थिए ।

तत्कालीन सरकारमा कांग्रेससमेत रहेका कारण कुँवरलाई आईजीपी बनाइएको थियो । 

ज्ञवाली कोशी प्रदेशको डीआईजी हुँदा सम्बन्ध बढाएका आचार्यको बलमा आईजीपी हुन खोजिरहेका थिए । त्यसका लागि व्यापारीहरुसँग पैसा उठाउने क्रममा चलाउनेसँग पनि पैसा मागेका थिए । 

ज्ञवाली सीआईबीमा पुगेपछि सुन प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयबाट हाजिर जमानीमा छाडिएको थियो ।  यहाँ गृहमन्त्री लामिछानेको पनि स्वार्थ बाझिएको आशंका छ । 

लामिछानेले महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएर अदालतको काम पनि सरकारले गरिदिएको आशय व्यक्त गरेका थिए । तर कुन कानूनले महरालाई छाड्न र कुन कानूनले महराजस्तै घटनामा पक्राउ परेकाहरु जेलमा सड्नु पर्छ भनेर भने लामिछानेले खुलाएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ