arrow

लोडसेडिङ हुने हल्ला निराधार- ऊर्जामन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
shakti-basnet-12-16.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरू आएअनुसारको समस्या नभएको दाबी गरेका हुन् । उनले केही दिनदेखि भारतबाट विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । 

उनले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । उनले बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरे । 

उनले भारतीय प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्ला वास्तविकता नभएको बताए । उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकता भन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए ।

उनले भने,‘लोडसेडिङ हुँदैछ रे । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदै छन् भन्ने बाहिर समाचारहरू आइरहेको छ । त्यो सही होइन । नियमित प्रक्रियामा प्रत्येक वर्ष सरकारले नवीकरण गर्ने प्रक्रियामा हुन्छ । हामी त्यो प्रक्रियामा छौं । त्यो भारत सरकारसँग नवीकरण हुन्छ । प्रक्रियागत रूपमा काम चलिरहेको छ । अहिले बाहिर मिडियामा जस्तो चर्चा र हैवा फैलाएको परिस्थिति छ । त्यो अवस्था होइन । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैन भन्ने आवश्यकता भन्दा बढी चर्चा उपयुक्त हुँदैन । तथापि सजगताको निम्ति अन्यथा मान्नुहुँदैन । यसको बारेमा वास्तविकता यो नै हो । हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रक्रियामा हो । अहिले नवीकरण गर्ने प्रक्रियामा छौं । प्रक्रिया अगाडि बढी रहेको छ । मिडियामा चर्चा भएको जस्तो नभएको कुरा भन्न चाहन्छु ।’

भारतबाट बिजुली खरिदको लागि हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । उक्त नवीकरण भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको हल्ला बजारमा चलेको छ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाटभन्दा बढी आयात गर्दै आएको छ । तर पनि नेपालका औद्योगिक क्षेत्रहरूमा विद्युत् कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् 

। ऊर्जामन्त्री बस्नेतले विराटनगर करिडोरमा विद्युत् आपूर्तिमा समस्या रहेको स्वीकार गरे । उनले गत वर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी पहिरोको कारण जलविद्युत आयोजनाहरूमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको बताए । उनले निजी क्षेत्रले उत्पादन गरेको विद्युत् ढल्केवरबाट इनरुवालाई प्रसारण लाइन जोडेर विराटनगर करिडोरको प्रेसरलाई कम गर्ने प्रयास गरिरहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ