काठमाडौँ। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सुशासनको नाममा आतंक सिर्जना गरिएको आरोप लगाएकी छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारले प्रतिपक्षी नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको दाबी गरिन्।
नेपाली कांग्रेसका सभापति गगन थापाको निवास नजिक देखिएको शंकास्पद गतिविधि तथा केही सञ्चारगृहको गेटमा देखिएका घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै उनले सभामुखमार्फत रुलिङ गर्न आग्रह गरिन्।
पन्तले सरकारले आफूबाहेक सबैको अपमान गर्ने र ‘बालीमा जिरो, गालीमा हिरो’ बन्ने प्रवृत्ति देखाएको टिप्पणी गरिन्।
साथै मनसुनका कारण बाढी-पहिरोको जोखिम बढिरहेका बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुखविहीन हुनु सरकारको गैरजिम्मेवारी भएको बताइन्।
संयुक्त राष्ट्रसंघको ‘अर्ली वार्निङ फर अल’ कार्यक्रमअन्तर्गत नेपाल छनोट भए पनि त्यससम्बन्धी रणनीतिक योजना अनुमोदनमा ढिलाइ गरिएको भन्दै उनले सरकारको आलोचना गरिन्।
कृषि र अर्थतन्त्रका विषयमा बोल्दै उनले किसानले अझै रासायनिक मल नपाएको, उत्पादनको उचित मूल्य नपाउँदा सडकमा फाल्नुपर्ने अवस्था आएको र बजारमा महँगी बढ्दा पनि सरकारले प्रभावकारी बजार अनुगमन नगरेको आरोप लगाइन्।
दुग्ध उत्पादक किसानले भुक्तानी नपाएको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।
पन्तले अनुसन्धानबिनै नेताहरूको घरमा छापामार शैलीमा छापा मार्ने र पक्राउ गर्ने कार्य लोकतान्त्रिक मूल्यविपरीत भएको बताइन्।
विपद्का कारण पाँच हजार घरधुरीका दुई लाखभन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान रहे पनि सरकारले सम्बन्धित निकायलाई नेतृत्वविहीन राखेको उनको भनाइ थियो।
राष्ट्रिय सदाचार नीति-२०८३ लागू गर्ने निर्णयको स्वागत गर्दै उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि-८७ कार्यान्वयनमा बेवास्ता गरिएको उल्लेख गरिन्। साथै वैदेशिक रोजगारीमा जाने श्रमिकमाथिको सेवा शुल्क घटाउनुको सट्टा बढाउन खोजिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरिन्।
उनले सरकारले तानाशाही प्रवृत्ति त्यागेर लोकतान्त्रिक मूल्य-मान्यता र जनचाहनाअनुसार काम गर्नुपर्ने तथा संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयं उपस्थित भएर दिनुपर्ने मागसमेत गरिन्।