- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।
बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहेका छन् । उनी विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन् ।
यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुँदैछ ।
बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।