arrow

सहकारी ठगीमा श्रममन्त्री अर्यालको संलग्नताबारे संसदमा उठ्यो प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
dolprasad-aryal-new.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी प्रकरणमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संलग्नताबारे संसदमा कुरा उठेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा  नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले यो विषय उठाएका हुन् । 

यादवले अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय उठाएका  हुन् । उनले भने,‘श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ। समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ।’

समस्याग्रस्त सहकारीमा श्रममन्त्री अर्यालको संलग्नताबारे हाम्राकुराले समाचार प्रकाशन गरेको थियो । काठमाडौँको बालुवाटारमा रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीमा ३६ जना बचतकर्ताको ४ करोड ९२ लाख रुपैयाँ मागदाबी रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । 

उक्त सहकारीको २०७७ साल साउन ९ गते बसेको साधारण सभाले हालका श्रममन्त्री अर्याललाई उपाध्यक्ष बनाएको थियो । सोही समितिमा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सदस्य थिए । 

२०७९ मा गितेन्द्र राई नेतृत्वको अर्को सञ्चालक समिति गठन भएको बताइए पनि उक्त समितिको वैधानिकतामाथि प्रश्न उठेको छ । 

सोही कारण सहकारी विभागले श्रममन्त्री अर्याल सहभागी रहेको कार्यसमितिको सूचीसमेत उल्लेख गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ