arrow

संशोधन दर्ता गर्ने वित्तिकै देशभर आगो बल्छ : एमाले

संशोधन असफल पार्न भने सक्दैनौं : बामदेव

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
uml-party-office-in-dhumbar.jpg.jpeg

काठमाडौं । संविधान संशोधन गर्न सत्ताधारी र प्रतिपक्षी दलहरुबीच सहमति हुन नसक्दा संविधान कार्यान्वयन तथा आगामी तीन तहको निर्वाचनको अन्योलमा परेको छ । सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकको चर्काचर्कीले सत्ताधारी र विपक्षीबीचको दूरी समेत बढाएको छ । सत्ताधारीले विपक्षी एमाले गैर जिम्मेवार भएर प्रस्तुत भएको बताएको छ भने प्रमुख विपक्षी एमालेले औचित्य विनाको प्रस्ताव ल्याउन खोज्नु त्यो भन्दा झन् गैर जिम्मेवार हुने तर्क गरेको छ ।

प्रमुख प्रतिपक्षी दल संविधान संशोधनको विपक्षमा उभिएपछि सत्ताधारीले सहमति नभएपनि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । सरकार गठन गर्नु अघि असन्तुष्ट पक्षसँग संविधान संशोधनको बाचा गरेकाले सत्तारुढ दलहरु दोहोरो संकटमा परेका छन् । सत्ताधारीहरुले पलेरै अघि बढ्ने संकेत दिएपछि प्रमुख विपक्षीले त्यसको प्रतिवाद गर्न सडक र सदन दुवैको तयारी गरेको छ ।  

संविधान संशोधनकै विषयले अब नेपाली राजनीति केही समय फेरी अनिर्णित हुने भएको छ । विज्ञहरुले राजनीतिक दुर्घटनाको सम्भावना समेत देखिरहेका छन् । एमाले नेताहरुले संविधान कार्यान्वयन गर्छौं भनेर आफ्नो सरकार ढाल्नेले कार्यान्वयन गरेर देखाउनु पर्ने बताएका छन् । यद्यपि, संविधान संशोधन प्रस्ताव दर्ता गर्ने वित्तिकै सदन र सडकमा प्रतिवाद गर्ने जनाइसकेको छ ।

एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले संशोधन प्रस्ताव दर्ता हुने वित्तिकै सडक र सदनमा आगो बल्ने बताएका छन् । हाम्राकुरासँग गौतमले भने, ‘सात वटा प्रदेश टुक्र्याउने, टुटाउने, फुटाउने र विगार्ने कार्य हामीलाई कदापि मान्य हुँदैन । देशभर विरोधका लागि निर्देशन गइसकेको छ । सडक र सदन दुवैको पूर्ण तयारीमा छौं ।’ औपचारिक रुपमा घोषणा मात्रै भएको छैन ।

संसदमा संशोधन दर्ता हुना साथ देशैभर प्रतिवाद हुन्छ, गौतमले अगाडि थपे, ‘प्रदेशको सीमाङ्कन चलाउँदा कस्लाई फाइदा । कस्लाई घाटा भन्नु भन्दा पनि सात प्रदेश बाहेक एमालेले सोच्नै सक्दैन ।’

भनेको तपाईहरु र मधेस केन्द्रित दलहरुको लाइन एउटै आयो हैन, संविधान संशोधन नगर्ने ? जवाफमा गौतमले भने, ‘संविधान संशोधन के आधारमा गर्ने ? कसलाई विभेद र हानी गरेको छ र संविधानले । खै नागरिकले यो सात प्रदेशको खाका ठिक छैन भनेर जुलुस निकालेका त छैनन् ।’ हामी कसका लागि किन संशोधन गर्ने त्यो प्रष्ट हुनु पर्दैन –नेता गौतमले प्रति प्रश्न गरे ।

यसको अर्थ एमाले सरकारमा आउन लागेको हो ?

एमालेलाई सरकारमा जान कुनै रहर नभएको गौतमले बताए । उनले भने, ‘हाम्रो सरकार ढाले पनि हामी कसैको सरकार ढाल्ने पक्षमा छैनौं ।’ सरकारमा जाने विषयमा एमालेमा कुनै कुरा उठेको छैन । तपाई प्रधानमन्त्री बन्ने भनेर यत्रो कुरा आइरहेको छ ? साँच्चै तपाई प्रधानमन्त्री बन्ने कुरा चैं के हो ? जवाफमा गौतमले भने, ‘यस विषयमा कुनै कुरा भएको छैन । कुनै सम्भावना पनि छैन ।’ हामीबीचमा त्यो विषय उठान नै भएको छैन ।

संशोधन असफल पार्न सक्दैनौं
एमाले उपाध्यक्ष गौतमले सदनमा संशोधन प्रस्ताव गइसकेपछि आफुहरुले असफल भने गराउन नसक्ने बताए । किन ? जवाफमा उनले भने, ‘हामीले कसरी असफल गराउन सक्छौं । सत्ताधारीले राप्रपा लगायत दलहरुलाई साथमा लिइसकेका छन् । दुई तिहाई पुराउने अभ्यासमा लागेका छन् ।’

हाम्रो जम्मा १८२ सांसद छ । हामीले कसरी असफल गराउन सक्छौं । दुई तिहाई उतै छ । गौतमले त्यसो भनेपनि विपक्षमा रहेका अन्य दलहरुले सहयोग नगरे सत्तापक्षको दुई तिहाई पुग्न सक्दैन । संसद नियमावली अनुसार हाल संसदमा कायम रहेका ५९४ सदस्यको दुई तिहाई संख्या ३ सय ९६ हुन आउँछ । सत्ताधारीसँग अहिले ३ सय ९१ सदस्य छन् । बाँकी ५ जना ल्याउन विपक्षमा रहेका अन्य दललाई मनाउनु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ