arrow

राजीनामा दिए गण्डकीका मुख्यमन्त्री पाण्डेले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
surendraraj-pandey-resign-8.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए । 

गत फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनले बिहीबारभित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि पाण्डले विश्वासको मत पाउने अवस्था टुंगिँदा राजीनामा नै एकमात्र विकल्प देखेका हुन् । 

विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएको मुख्यमन्त्री पाण्डेले बताए । कूल ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ । 

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुन् ।

 केन्द्रको सत्ता समीकरण अनुसार एमाले–माओवादी गठबन्धनको पनि सरकार बन्न सक्ने अवस्था छैन । त्यसका लागि राप्रपाको साथ आवश्यक पर्छ । राप्रपा सरकारलाई समर्थन गर्ने–नगर्ने विषयमा अनिर्णित छ ।



नयाँ